• १९ चैत २०८१, मङ्गलबार

फिस्स हाँस्यो दहगाउँको पञ्चदेवल

blog

देउती बज्यै आशीर्वाद बर्साइरहेकी थिइन् । बसमा गुन्जायमान भयो– देउतीमाताकी जय ! मैले नमन गरेँ । बस हुइँकियो उँभोतिर । महाभारत पर्वत शृङ्खलाको अँगालोमा रम्न !   आँखामै टाँसियोे सुर्खेत उपत्यकाको सौन्दर्य ! उँभो लाग्दालाग्दै नागबेली बाटोबाट नियाल्न थालेँ ! माताको न्यानो अँगालोमा चुर्लुम्म डुबेँ म ! कर्णाली प्रदेशको राजधानी भएर फैलिएको सुर्खेत मुसुक्क हाँस्यो । हामीलाई यात्राको कठिनाइसँग कुनै सरोकार थिएन । मस्त थियौँ यात्रामा ! प्रकृतिको सामीप्यमा रमाइरहेको थियो मन !

टाढा कतै काँक्रोविहारको गजुर टलक्क टल्किए झैँ लाग्यो । झलक्क सम्झेँ, कठै युगौँयुगदेखिको भग्न विहार ! अहिले त तम्तयार भइसकेको हुँदो हो पुराताìिवक वास्तुकला समेट्दै । पुगेथेँ म धेरै वर्षअघि भग्नावशेषलाई छामछुम गर्न र पछि पुनर्निर्माणको क्रममा अवलोकन गर्न ! त्यतिबेला माओवादी आतङ्कको जग्जगी नै छिचोलेको थिएँ, मैले तर पुनर्निर्माणपश्चात् पुग्न सकेको छैन, अनुकूल नमिल्दा । अनुकूल पनि गज्जबकै हुँदोरहेछ । अहिले पनि ठ्याम्मै अनुकूल मिलेन नजिकै पुग्दा पनि । के भन्दो हो प्रिय काँक्रोविहार हगि ! पुराताìिवक सौन्दर्यलाई नवर्निर्माणमा समेटेर मुस्कुराइरहने काँक्रोविहार ! आस्थाको केन्द्र ! पशुपतिको यात्रा सिद्राको व्यापार गर्न सकिनँ यतिबेला । चाहिनँ पनि । यात्रामा होमिनु छ, जुम्ला हुँदै मुगुको रारासम्मै । टाढैबाट नमन गरेँ । नरिसाउ है आराध्य काँक्रोविहार ! हिन्दु र बौद्धको आस्था केन्द्र ! उक्लिरह्यो बस पर्वतीय प्रकृतिको सुन्दरतम घुम्ती गल्छेडाहरूमा । महाभारत पर्वतीय शृङ्खला मुस्कुरायो । वातावरणमा लोकगीत गुन्जिन थाल्यो–

‘सुर्खेतमा बुलबुले ताल 

चौतारीमा भेट भयो यसै साल ।’ 

हो १३ औँ राष्ट्रिय लोकवार्ता सङ्गोष्ठीको चौतारीमा सुर्खेतसँग आत्मीय भेटघाट भएको हो हिजोे । हामी रमाएका थियौँ बुलबुले तालसँगै बुलबुल ! बुलबुल !

देउती बज्यै मुसुक्क मुस्कुराएकी थिइन् हिजै पुग्दापुग्दै जम्काभेट हुँदा । श्रद्धावत् हामीले दर्शन गरेथ्यौँ देउती बज्यैको । मूलतः राजी जातिको आराध्य देवी ! अहिले हामी सबैको आराध्य देवी ! नगरकै छेउमा अवस्थित देउती बज्यैको अनदेखा कसरी गर्न सक्थ्यौँ र ! राजी जातिकै पुजारी बैनीहरूबाट टीका ग्रहण ग-यौँ श्रद्धावत् !

देउती बज्यैको संरक्षणमा रमाइरहेको सुर्खेत कर्णाली प्रदेशको राजधानी भएर गजक्क बसेको छ । सुर्खेतले हामीलाई स्वागत गरेथ्यो सहृदय । ‘हाम्रो परम्परा, हाम्रो पहिचान’ को सुन्दर अभिमतसाथ १३ औँ राष्ट्रिय लोकवार्ता सङ्गोष्ठी सुर्खेतबाट प्रारम्भ भई दैलेख, कालीकोट, जुम्ला, मुगु हुँदै रारासम्मै लम्बिँदै थियो । 

लोकसंस्कृति, लोकसाहित्य, लोकपरम्परा आदि लोकवार्ता नै त हो हाम्रो पहिचान ! नेपालित्व ! जगेर्नाका लागि उत्साहित छन् हाम्रा मनमुटु । म पनि होमिन पाउँदा गद्गदिएको छु यस शुभकर्ममा । सहरीकरणीय परिवेशमा विलुप्त हुने क्रममा उँधो लागिरहेको लोकसंस्कृति नवजागरणका साथ बाँच्न खोजिरहेको पाउँदा मुसुक्क हाँस्यो काँव्रmेविहार ! र त लोकसंस्कृति, लोकसाहित्य, लोकजीवनका झाँकी र गोष्ठीपत्रहरू बुद्रुक बुद्रुक उफ्रे आँगन नै थर्थराउने गरी । जम्जमाएथ्यो सङ्गोष्ठी । 

‘एका कान आछिन के सुनको ताडी ?

आउनु जानु क्यान छाडी पातीफूलवाडीको ?’

लोकगीत गुन्जियो मनै हरर हुने गरी । योगी नरहरिनाथ (हिमाली लोकसाहित्य–२०२१) नै गुन्गुनाइरहे झैँ लाग्यो मलाई !   

लोकवार्ताका संवाहकहरू लोकगायक गङ्गाबहादुर केसी, वाद्यवादक प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली र लोकनाटककर्मी गणेशभक्त गौतम सम्मानित हुँदा आफैँ सम्मिानित भए झैँ लाग्यो मलाई ।  लोकवार्ताका संवाहकलाई सम्मान गर्न पाउँदा मुस्कुरायो सिङ्गो सुर्खेत । बुलबुलायो सुन्दर बुलबुले ताल ! मुस्कुरायौँ अध्यक्ष भवेश्वर पङ्गेनीसहित सिङ्गो लोकवार्ता परिषद् नेपाल ! २०८१ साल कात्तिक ४ को शुभप्रभात मुस्कुरायो लालीमा छर्दै । हामी उँभो लाग्यौँ सुर्खेतलाई जदौ गर्दै ।

मुसुक्क हाँसिरहेका थिए वनजङ्गल, पाखापखेरा । कति हिस्सी परेकी समीक्षा नेपाल ! कर्णालीकी होनहार बाला ! भविष्यका कर्णधार ! उनको बान्की मिलेको कविता ‘कर्णालीको सपना’ गुन्जिँदै रहेछ भिरपहरामा । सलबलाउँदै रहेछ बस्ती बस्तीमा ! सिङ्गो कर्णालीको सपना साकार पार्नु पर्छ कर्णालीवासीले नै । युवा हातहरू सलबलाउनु पर्छ बेलैमा ! अरूको मुख ताक्ने बेला हैन यो । ‘लम्क लम्क चम्क हे नौ जवान हो !’ गुन्गुनाउन पुग्छु म !

देखिरहेछु धपक्कै बलेका रस्तीबस्तीहरू । विकासको उज्यालो पोतिँदैका लेकबेँसीहरू । साँघुरो र कच्ची सडकहरू, सडक छेउका घरटहराहरू ! आहा ! त्यहाँ सलबलाएका बालबालिकाको जीवन्तता ! साँच्चै लोभिँदै थिएँ म । 

पुस्तकका पाना झैँ पल्टिरहेका थिए डाँडाका थुम्काथुम्कीहरू । नागबेली सडकका घुम्तीहरू छिचोल्नासाथ अर्को दृश्य देखिन्थे कतै सौन्दर्ययुक्त त कतै कहालीलाग्दा ! तर सबै नौला थिए मेरा लागि । प्रकृतिको अनुपम उपहार स्विकार्नै पथ्र्यौ हामीहरूले ।

अरू के गर्दै थिए कुन्नि ! म प्रकृतिको सौन्दर्यमा लट्ठिँदै थिएँ । हाम्रो तिस जनाको लोकवार्ताप्रेमीको दलबल लोकवार्ताको खोजी र संवर्धनका लागि गतिशील थियो । गतिशीलता नै त हो जीवन ! गतिशीलतामै रमाउँदै थियौँ हामी !

यसपालिको भीषण वर्षाले कोतरेका पाखापखेरामा लम्पसार क्षतविक्षत सडकमा सतर्कतापूर्वक हुइँकिँदै थियो बस । हामीलाई रत्तिभर पिरलो थिएन चालकको सुझबुझमा । जोल्टिनमै पनि हाम्रो हाँसो फुत्किन्थ्यो मज्जाले । डुङ्गा झैँ ढलपल ढलपलमा पनि लोकवार्ताकै संवाद र प्रस्तुतिमा अल्झिन्थ्यौँ हामी । अग्रजहरूको अनुभव पोखिन्थे कतै, कतै युवा जोशमा लोकगीत घन्किन्थे । चिन्तामुक्त हुन्थ्यौँ हामी कठिन यात्रामा पनि ।

दिदीबैनीहरू बाँड्न खप्पिस थिए, चकलेट, तिरौरा, पुस्टकारी, सुन्तला, अम्बा, दालमोठ, बिस्कुट, काजु, बदाम आदि इत्यादि । हामी चाख्न खप्पिस थियौँ दिदीबैनीको माया ममता ।

“लौ सुन्नुहोस् है, म कविता सुनाउँछु,” सहयात्री शशी थापा पण्डितको जाँगर जुर्मुरायो । सेल्फीमा सोखिन उनले ढलपल ढलपल गर्दै हुइँकिरहेको बसको सिटबाट लर्खराउँदै उठेर घोषणा गरिन् । बस अलिकति बढी कोल्टो फर्केमा झ्वाम्मै कर्णालीमा पुग्ने सन्त्रास पनि रत्तिभर थिएन ।

सुर्खेतको कपासेबाट उँभो लागेको हाम्रो बस रानीभट्टाको लेक (दैलेख) पुग्दै थियो । उनले प्रेममय कविता वाचन गर्दा युवा जोश धपक्कै बल्यो । म भने वर्षाको पानी सङ्कलन गर्न ठडिएका ठुला ठुला माटोका घ्याम्पाहरूमा अल्झिएको थिएँ । पानीबिनाको माछो झैँ गुराँसे गाउँपालिका छटपटाएको छर्लङ्गै देखियो । धन्न मानव जीवन ! बिनापानीमै बाँच्ने र हाँस्ने जमर्को कति 

मार्मिक ! तितो सत्य ! गाई बान्ना, घोडा बास जस्ता रस्तीबस्तीको ओराली उकाली ! डुङ्गेश्वरको पराजुल खोलाकै आडमा पराजुल गाउँसँगको जम्काभेट ! “यही गाउँबाटै त हो नि पराजुलीहरूको विस्तार भएको,” कसैले मुख खोले, सायद माधव पोखरेल 

सरले हो कि ? 

मैले झलक्क सम्झेँ, प्राडा मोतीलाल पराजुली सर । पोखरा कास्कीका पराजुली सर लोकवार्ता अन्वेषक हुन् नि ! मैले उनीसँग धेरै पटक सहयात्रा गरेको छु । ज्ञानगुनका कुरा सुनेको छु । उनी अहिले सँगै भएका भए सोध्ने थिएँ, “हो र सर ?” अपशोच ! उनी अहिले हामीसँग छैनन् । अनन्त अनन्त यात्रामा गइसकेका छन् । दैवको लीला ! तर कृतिशेष पूर्णप्रकाश नेपाल यात्रीले 

‘नियात्राको नौलो सुसेली’ (२०३९) सुसेल्दै भनिरहे झैँ लाग्यो । हो त नि ! ‘नेपा जानोस् नेपालहरूको पुख्र्यौली थलो कुल्चन, भुर्ति जानोस् भुर्तेलहरूको पुख्र्यौली थलो कुल्चन, लमजी जानोस् लमजेलहरूको पुख्र्यौली थलो पाउनु हुने छ । त्यसै गरी बासीमा बसेलको, बस्ताकोटमा बस्ताकोटीको, जम्बुकाधमा जमकट्टेलको, दाहागाउँमा दाहालको, रिजागाउँमा रिजालको, लाम्सुमा लम्सालको, पराजुलमा पराजुलीको, दुल्लुमा दुलालको, भुसाकोटमा भुसालको, रिसाकोटमा रिसालको, बस्तोलीमा बास्तोलाको, चापागाउँमा चापागाईंको, लामछानीमा लामिछानेको, मडासैनमा मरासिनीको र यस्तै कतिपय नेपाली थरको बनोट सम्बन्धमा उज्यालो प्रकाश पाउन सकिने छ ।’ छक्कै परेँ म 

त ! कर्णाली प्रदेश ब्राह्मण क्षेत्रीको पुख्यौली थलै पो रहेछ, खसान क्षेत्र ! “लौ है कपिल सर ! लामछानी गाउँ पनि यता कतै होला तपाईंको पुख्यौली गाउँ ! खोज्नुहोस्,” मैले प्याच्च भनेँ ।  “हो 

हगि ! खोजौँ खोजौँ !” माधव लामिछाने तम्सिनुभो । कपिल लामिछाने सर फिसिक्क हाँस्नुभो । बसले लोहरेखोला र डुङ्गेश्वर खोलाको सङ्गमको पुल तरिसकेको थियो ! दुल्लुका लागि लोहरेखोला तरेर उकालो लाग्यो बस निर्माणाधीन सडकमा । उकाली र कच्ची सडकमा बस घ्यार घ्यार कन्दै थियो, पर्वतीय जनजीवनको सुस्केरा झैँ । “यस्तो थाहा पाएको भए अर्को मार्ग पछ्याउनु हुन्थ्यो 

नि ! त्यताबाट सजिलो हुन्थ्यो,” गाइँ गाइँ गुइँ गुइँ गुन्जिन थाल्यो बसभरि । चालक भाइ शान्त, सव्रिmय देखिन्थ्यो । कुनै गुनासो थिएन । गन्तव्यमा पु-याउनु नै उनीहरूको ध्याउन्न थियो, कर्तव्य थियो । दहगाउँको पञ्चदेवल फिस्स हाँस्यो । ढुङ्गैढुङ्गाले निर्मित प्राचीन देवलहरू रित्ता रित्ता थिए । पाण्डवहरू स्वर्ग जाने क्रममा बनाइएको विश्वासमा बाँचेका रहेछन् यस्ता देवलहरू ! देव मूर्तिहरूरहित । 

मैले कुनै मूर्ति देखेको थिइनँ दैलेखको पञ्चदेवल र अछाम विनायकमा रहेको पञ्चदेवलमा पनि । कारण के हो खोजीकै विषय देख्छु म । यस सन्दर्भमा थप जान्न ‘ज्वालाकी रानी संस्कृतिकी खानी’ (बुर्कुसीमा रम्छ मन २०७५) नियात्रा सहयोगी बन्ने ठानेको छु । दहगाउँ दाहालहरूको पुख्र्यौली थलो हो रे ! कर्णाली प्रदेश त खस समुदायको उद्गम स्थल नै हो । अधिकांश ब्राह्मण क्षेत्रीहरूको थरको उद्गमस्थल ! स्थानीय गाउँबस्तीले पुख्र्यौली अझै सम्झाइराखेकै रहेछन् । खुसी लाग्यो जान्दा । 

अनि त के चाहियो र ! सहयात्री अम्बादत्त भट्ट सरले थर, गोत्र र राशिका बारेमा छलफलै पस्किदिनुभयो ।  सहयात्रीहरू सबैले सहभागिता जनाउने अनिवार्यता बन्यो तर यात्रा अवधिभर कुनै पनि छलफल र कुराकानीमा अङ्ग्रेजी शब्द मिसाउन नपाउने सर्त तेर्सियो । त्यसमा पनि पराइ शब्द मिसाएमा प्रतिशब्द ५० रुपियाँ हुस्सुदण्ड तिर्नुपर्ने रमाइलो प्रस्ताव पनि फव्रिmयो । खुच्चिङ ! बग्रेल्ती अङ्ग्रेजी शब्द मिसाउन पाउँदा फुलेल हुने हामीलाई ! आफ्ना सन्ततिले अङ्ग्रजी मिसाएर नेपाली बोल्दा मक्ख पर्ने हामीलाई ! नेपालीको धज्जी उडेकोमा नाक फुलाउने बानी परेका हामीलाई ! खुच्चिङ ! खुच्चिङ ! खुच्चिङ !

भाषाको बिचल्लीमा रन्थनिन्छु म ! सधैँ गज्याङ मज्याङ गज्याङ मज्याङ ! न नेपाली न अङ्ग्रेजी ! भाषाको 

बिचल्ली ! नेपाली बोल्दाबोल्दै अङ्ग्रेजी भट्याउन रौसिने हाम्रा युवापुस्ता र हाम्रा सञ्चार माध्यमलाई के भन्नु र खै ? यतिबेला झरेको भाषाप्रतिको पिरोलोको एक थोपा ! भाषाविद् माधव पोखरेल सरको रोहवरमा सहर्ष पारित भयो । नेपाली भाषाको उद्गम स्थल सिँजा प्रदेश मक्ख प¥यो, विशुद्ध खस अर्थात् नेपाली बोल्नैपर्ने विद्वान्हरूको अठोटमा । विद्वत् वर्गले सधैँ ख्याल राख्नुपर्ने चुरो कुरा लाग्यो मलाई । हौसिएँ म पनि ! लोहोरेखोलाबाट उक्लिएको निर्माणाधीन नागबेली सडक ! असिनपसिन असिनपसिन हाम्रो बस ! घुम्ती घुम्तीमा मोडिन नै ठस् ठस् ! जोल्टिङले थचार्ने पछार्ने अवस्था ! जीवनको सौन्दर्य नै त हो यो । चालक भाइहरू सुरेश लामिछाने र श्याम लामाको कुशल हँकाइमा ढुक्क बन्दै थियौँ हामी । बल्लतल्ल छिचोल्यौँ कठिनतम यात्रा । १२३६ मिटर अग्लिएर बसेको दुल्लु मसक्क मस्किइन् । सरर चिसो हावाको झोक्काले मायालु स्पर्श गरेर गयो ।