• १८ असार २०८१, मङ्गलबार

कोसीका सबै वडालाई ज्ञापनपत्र

blog

इनरुवा, जेठ २१ गते । सुनसरीको कोसी गाउँपालिकाका आठवटै वडामा मानव अधिकार समूहले माग र सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । स्थानीय मानव अधिकार समूहले १२ बुँदे मागसहितको ज्ञापन गाउँपालिकाका सबै वडा कार्यालयमा पुगेर वडाध्यक्षलाई बुझाएको हो  ।

समूहले चेतनामुुलक अभियानसहित कोसी गाउँपालिकाको १ देखि ८ नम्बर वडामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजनाअन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको बारेमा काम गर्दै आएकोमा गाउँपालिकाको १ नम्बर वडाध्यक्ष सोभितनारायाण यादव, २ नम्बर वडाध्यक्ष ध्यानी उराँव, ३ नम्बर वडाध्यक्ष सुलेमान मंसुरी, ४ नम्बर वडाध्यक्ष इसराइल मियाँ, ५ नम्बर वडाध्यक्ष साह जमाल, ७ नम्बर वडाध्यक्ष लाल देव सदा र ८ नम्बर वडाध्यक्ष बलरामकुमार क्षेत्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

 समूहका अध्यक्ष राजकुमार शर्माले विद्यालय शिक्षामा गुणस्तरीयताका लागि विद्यालयसँगै मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, विद्यालयमा शिक्षक सरुवा बढुवामा विषयगत र तहगतमा ध्यान दिनुपर्ने, वडामा कृषि, पशु, शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरी जवाफदेहिता र नियमितताका लागि सुझाव दिने काम अनुमगन समितिले गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा गरिएको छ । 

कोसी गाउँपालिका १, २, ३, ४ र ५ सहित श्रीपुर क्षेत्रमा खेत सिँचाइ गर्नका लागि हरिपुर शाखा नहरको मर्मत सम्भारका लागि पहल गर्नुपर्ने र सामुदायिक विद्यालयसँगै मदरसाका छात्राका लागि समेत स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको समूहका सदस्य रीना मण्डलले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा समूहका उपाध्यक्ष श्यामकुमार खङ्ग, सचिव विष्णुकुमार यादव, सहसचिव रीनाकुमारी मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल, सदस्यहरू गीता पौडेल, ओरेककी कविता मण्डल, जानकी शिवाकोटी,  अधिकारकर्मी मोती मेहता, कार्यपालिका सदस्य शोभा मेहता र इन्सेक प्रतिनिधि जयकृष्ण यादवलगायतको उपस्थिती रहेको थियो । 

सबै वडाध्यक्षहरूले आफूले भ्याएसम्मका काम मानव अधिकारमैत्री तरिकाले गर्ने र बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालसमेत समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।