शङ्कर केसी
(शारदा) सल्यान, चैत १६ गते । सल्यानमा धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका अवसरमा प्रस्तुत गरिने सरिङ्गेनाच अर्थात् मयूरनाचको संरक्षणमा पछिल्लो पुस्ताको चासो बढ्न थालेको छ । मयूरको प्वाँख पछाडि राखेर नाचिने यो नाच आकर्षक नाचका रूपमा परिचित छ । यद्यपि पछिल्लो समय मौलिक तथा परम्परागत संस्कृति हराउँदै गएको सन्दर्भमा पछिल्लो पुस्ताले सल्यानमा यस नाचमा रुचि देखाउन थालेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा किशोरकिशोरी तथा युवाको मयूरनाचमा चासो देखिएको छ ।
छत्रेश्वरी गाउँपालिका–२, डिग्रे खोरबारेकी १३ वर्षीय निर्जला पुनमगर आफ्ना बुवा तथा काकासँगै मयूरनाच नाच्न थाल्नुभएको छ । मयूरको अनुकरण गर्दै रङ्गीन पोसाक र प्वाख लगाएर मयूरको चाल र सौन्दर्यलाई प्रस्तुत गर्दा उहाँलाई निकै रमाइलो लाग्ने गरेको छ । गाउँमा बुवाहरू नाचेको देखेको भन्दै उहाँले फुर्सदको समय निकालेर यो नाच सिक्ने गरेको बताउनुभयो । छत्रेश्वरी–२ को जनजाति मगर सङ्घमा रहेका अभिभावरुले आफ्ना छोराछोरीलाई समेत नाच्न प्रेरित गरेका छन् । पालिकाका विभिन्न कार्यव्रmममा किशोरकिशोरीले आफ्ना बुवा, काकाहरूसँगै नाच्ने गरेका छन् । मयूरनाच बाल्यकालमै सिक्दै पुराना सांस्कृतिक रीतिथितिप्रति लगाव बढोस् पछिल्लो पुस्तालाई नाचमा सहभागी गराएको अभिभावकको भनाइ छ ।
लामो समयदेखि सरिङ्गे नाच्दै आउनुभएका चेतबहादुर घर्तीमगरले मेला महोत्सव, पूजा, बिहे तथा सामाजिक कार्यव्रmममा आफूहरूले नाच प्रदर्शन गर्दै आएको बताउनुभयो । खैजडी, बाँसुरी, हार्मोनियम, पैजन, झ्यालीलगायतका बाजागाजालाई विभिन्न धुन दिएर केही आधुनिकता र परम्परागत सांस्कृतिक पक्षलाई पनि समन्वय गर्दै नाच्ने गरेको उहाँको भनाइ छ । अर्का १७ वर्षीय किशोर प्रशान्तकुमार पुनमगरले मयूरनाच नाच्न रहर लाग्ने गरेको र विस्तारै यसको ताल तथा अन्य कला सिकिरहेको बताउनुभयो ।
यस नाचका गुरु विजयकुमार घर्तीमगरले विभिन्न कारणले पौराणिक कला संस्कृतिको अस्तित्व सङ्कटमा परिरहेका बेला आफूहरूले मयूरनाच बचाउनका लागि सक्दो प्रयास गरेको बताउनुभयो । “यो नाच नाच्नका लागि २२ जनाभन्दामाथिको सङ्ख्या चाहिन्छ,” उहाँले भन्नुभयो, “किशोरकिशोरीसहित गाउँका आमा समूह, महिला समूहलाई पनि आबद्ध गर्दै नाच सिकाउँदै विभिन्न अवसरमा नाच्ने गरेका छौँ, उनीहरू पनि सिक्नलाई उत्सुक छन् । दैनिक २/३ घण्टा सिक्ने गरेका छौँ ।”
मयूरनाचसँंगै सोरठी, लहरेनाच तथा पन्चैबाजालगायतका पौराणिक लोक, कला संस्कृति तथा यसमा प्रयोग हुने रैथाने बाजा समाजको संस्कार र संस्कृतिको अभिन्न अंश भएकाले यसको संरक्षणमा सबैको प्रयास जरुरी रहेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकी बताउनुहुन्छ ।