• २० चैत २०८१, बुधबार

बालविवाह रोक्न स्थानीय सरकारले दिएन चासो

blog

जाजरकोटमा बालविवाहविरुद्ध सरोकारवालासँग गरिएको छलफल ।

खलङ्गा समाचारदाता 

जाजरकोट, चैत १६ गते । जिल्लाका ग्रामीण क्षेत्रमा करिब ७५ प्रतिशत बालविवाह हुने गरेको छ । कुरीति, कुसंस्कार, अन्धविश्वासका कारण बालविवाह बढ्दै गएकाले यसको न्यूनीकरणका लागि स्थानीय सरकारले चासो दिनुपर्ने माग गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहका सवालमा गरिएको सरोकारवालासँगको छलफलमा यस्तो माग गरिएको हो । 

सरोकारवाला निकाय, अभियन्ता, अभिभावकको सहयोगमा समाजलाई बालविवाहको जालोबाट बाहिर ल्याउन नसक्दा बालविवाह बढ्दै गएको छ । भेरी नगरपालिका–४ का अम्मरसिंह राठौरले गरिबी, बेरोजगारी, अशिक्षाका कारण बालविवाह बढिरहेकाले स्थानीय पालिकाले रोकथामका कार्यव्रmम बढी सञ्चालन गर्नुपर्ने बताउनुभयो । बालविवाहविरुद्ध सरकारले बालबालिका, अभिभावकलाई सचेत बनाउनुपर्ने सुझाव उहाँको छ । 

भेरी नगरपालिका–४ का अभियन्ता सरस्वती शर्माले ग्रामीण बस्तीमा अशिक्षा, गरिबी, बेरोजगारी, पछौटेपनका कारण समस्या बढ्दै गएपछि स्थानीय सरकारले बालविवाहविरुद्धका ठोस योजना ल्याउनुपर्ने बताउनुभयो । विगत वर्षदेखि बालविवाह, यौन प्रजनन स्वास्थ्य अधिकारका सवालमा आवाज उठाउँदै आए पनि स्थानीय सरकारले बालबालिकालाई सहयोग पुग्ने कार्यव्रmम नल्याएको आरोप उहाँले लगाउनुभयो । भेरी नगरपालिका–८ का वडाध्यक्ष वीरबहादुर चन्दका अनुसार गरिब, दलित आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले बालविवाह बढी गर्ने गरेका छन् । गत भदौमा बालमैत्री वडा घोषणा गर्नुअघि करिब २२ जोडीलाई उमेर पुगेपछि विवाह गर्ने सर्तमा छुटाएर अभिभावकको जिम्मा लगाएको जानकारी उहाँले दिनुभयो ।

अभिभावकले चासो नदिँदा सामजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह बढेको छ । फोन, म्यासेन्जरमा बालबालिकाको कुराकानीले बसेको मायाप्रेमले पनि बालविवाह बढाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले प्रहरीमा बालक अथवा बालिका घरबाट सम्पर्कबाहिर गई हराएको भन्दै खोजी गरिदिन निवेदन आउने गरेको बताउनुभयो । बालबालिकालाई सम्पर्कमा ल्याएपछि घरमै सम्झाइबुझाइ गर्ने सर्तमा दिने गरिएको उहाँको भनाइ छ । 

भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले स्थानीय सामाजिक सुरक्षा ऐन निर्माण गरिएकाले सोही आधारमा बालविवाह न्यूनीकरणसम्बन्धी कार्यव्रmम सञ्चालन गरिने बताउनुभयो । सामाजिक अभियन्ता, सरोकारवाला निकाय, दातृ निकायले गाउँबस्तीमा पुगेर जनतालाई बालविवाहविरुद्ध सचेत गराउन पनि उहाँले आग्रह गर्नुभयो ।