• ७ मंसिर २०८१, शुक्रबार

नेपाली आधुनिक कलाको व्यथा

blog

तीर्थ निरौला

चित्रकला विधा ढुङ्गेयुगबाटै सुरु भएको देखिन्छ । ढुङ्गेयुगमा मानिसको दिनचर्या सिकार गर्नुमा नै बित्थ्यो । त्यसबेलाका मानिसले दिन बिताउने र सिकारका दैनिक उपलब्धिको लेखाजोखा गर्ने गर्दथे । उनीहरूको लेखाजोखा गर्ने भरपर्दो माध्यमका रूपमा रेखाङ्कन विधि थियो । त्यही रेखाङ्कन विधि वा प्रक्रिया पछि गएर सुन्दर आकारमा रूपान्तरण हुँदै गयो र ‘चित्रकला’ शब्द अस्तित्वमा आएको हो भन्ने भनाइ छ । चित्रकला त्यो विधा हो, जसभित्र भाषा, सङ्गीत र साहित्य अटाएर बसेका छन् । 

सुरुमा रेखा र ध्वनिको सम्मिश्रणयुक्त प्रयोगबाट शब्द र भाषाको उत्पत्ति भयो । शब्द, भाषा र रेखा परिष्कृत हुँदै गए । अनि विकसित मानवीय चेतनाले सौन्दर्यत्त्व आत्मसात् गर्न पुग्यो र कला, सङ्गीत तथा साहित्यको प्रादुर्भाव हुन पुग्यो । 

यस आलेखमा भने चित्रकला विधालाई मात्र खोतल्ने प्रयास गरिएको छ । चित्रकला विधा साहित्य, सङ्गीत, कला र कलाका अन्य विधाभन्दा जेठो विधा हो । संसारभर फैलिएका मानव समाजले चित्रकला विधालाई विश्वभाषाका रूपमा बुझ्ने गर्छन् । कुनै पनि देशको साहित्य, सङ्गीत वा अन्य कला विधाहरू जस्तै– नाट्य, सिनेमा, गीत, व्यङ्ग्यलाई बुझ्न र बुझाउन कुनै पनि एक देशको स्थानीय भाषाको आवश्यकता पर्दछ भने चित्रकलालाई बुझ्न र बुझाउन न भाषाको आवश्यकता पर्छ, न अभिनयकै आवश्यकता पर्दछ । किनकि चित्र दृश्य हुन्छ र यसको औचित्य दृष्टिगोचर गर्नु र दृश्य अनुभूतिबाट नै आनन्दमा पुग्नु हो । 

यो विधा मानव विकासपश्चात् साङ्केतिक बाटोबाट रेखाङ्कित रूप हुँदै शब्द र भाषामा प्रतिस्थापित भएर आएको हो, जुन भौतिक, अध्यात्म, दर्शन, प्रकृति र सौन्दर्यको सुन्दर अभिव्यक्ति गर्ने माध्यमका रूपमा आज प्रतिष्ठित छ । यहीँबाट चित्रकलाको मूल्य र मान्यताको पनि सूत्रपात भएको छ । यसको गरिमामय ऐतिहासिक पृष्ठभूमिका कारण आज विश्वप्रसिद्ध कलाकारहरूका कलाकृति आर्थिक रूपमा उपल्लो स्थितिमा पुगेका छन् । 

विगतमा र वर्तमानमा आफ्नो कर्मले इतिहास रचेका प्रसिद्ध कलाकारहरू लियोनार्दाे दा भिन्ची, राफेल, भेनगाग, डाली, पाब्लो पिकासो, ज्याक्सन पोलक, कान्दस्की, विलियम डि कनिङ्ग, मकबुल फिदा हुसैन र भारतमा क्रियाशील नेपाली चित्रकार लक्ष्मण श्रेष्ठ, नेपालका लैंनसिंह वाङ्देल, उत्तम नेपालीलगायत थुप्रै कलाकारका कलाकृति लाखौ“, करोडौँ रुपिया“ पर्छ । चित्र बहुमूल्य हुनु भनेको यसले समाजमा पार्नसक्ने शक्तिशाली सकारात्मक प्रभाव पनि हो । आर्थिक रूपमा कृतिलाई टेकाइराख्ने मूलभूत मन्त्रहरू कृतिको वैभव, गरिमा, घटनाक्रम र महìव नै हुन् । 

जस्तो– पाब्लो पिकासोको ‘गोर्निका’ चित्रकृतिले युद्धको उन्मादप्रति चोटिलो व्यङ्ग्य गरेकाले आज विश्वसम्पदाका रूपमा प्रतिष्ठित र सम्मानित रहिआएको छ । उदाहरणलाई अझ विस्तृतीकरण गर्ने हो भने भेनगाग र भिन्चीलाई नै हेरौँ– भेनगागको ‘सन प्लावर’ सिर्जना र उनका थुप्रै दृश्य चित्र आज बहुमूल्य भएका छन् । यसो हुनुमा पुरातन कला शैलीमा छाइरहेको पारम्परिक सैद्धान्तिक मान्यतामा उनका चित्रशैलीले जन्माएको क्रमभङ्गता नै हो । उनका चित्रले प्रभाववादी आयामको लय समात्नु महत्त्वपूर्ण कडी थियो । 

यस्तै लियोनार्दो दा भिन्चीको ‘मोनालिसा’ चित्रकृति, कलाकौशलतामा देखिएको अति यथार्थवादी सोचको नौलो आविष्कार भएको कारणले यो धेरै महत्त्वपूर्ण बनेको कृति हो । ‘मोनालिसा’ पोट्रेटको दुनियाँमा आएको एक नवजागरण हो । आजको आधुनिक विश्वले ‘मोनालिसा’ कृतिको विषयवस्तुका सन्दर्भलाई शङ्का र रहस्यात्मक दृष्टिले वर्णन गर्न थालेपछि त झनै यो कृति अति नै कौतुहलपूर्ण हुँदै बहुमूल्य विश्वसम्पदाका रूपमा संरक्षित रहेको विदितै छ ।

यसरी इतिहासमा वर्णित विगत र वर्तमानका आधुनिक कलाका विश्वप्रसिद्ध धेरै कलाकारमध्ये म्याथिस गु्रनेवाल, लियोनार्दाे दा भिन्ची, राफेल, क्लाउड मोनेट, माने, डाली, भेनगाग, रोजर फ्रे, गोगा, सेजाँ, कान्दस्की, पल ली, पिकासो, ब्राक, ज्याक्सन पोलक, भारतका एम एफ हुसैन, लक्ष्मण श्रेष्ठ तथा अन्य प्रयोगवादी कलाकारका कृतिले कलामा नवमान्यता र नौलो जागरण आत्मसात् गर्दै नौलो सैद्धान्तिकवाद स्थापित गरेका र गर्ने प्रयत्न गरिरहेका छन् । यिनीहरूका कृतिहरू आज विश्व बजारमा बहुमूल्य र संरक्षित हुँदै आएका छन् । 

बृहत् सामाजिक दृष्टिबाट हेर्दा संसारका बहुमूल्य कलाकृतिको आर्थिक मूल्यको तुलनामा कलाकारले कृतिका माध्यमबाट विश्वसमाजलाई समृद्ध र वैभवशाली तुल्याउने कार्य ज्यादै महत्त्वपूर्ण र सकारात्मक रहिआएको छ । यसैले भन्ने गरिन्छ कि कलाको मूल्य हुँदैन भनेर । यही सत्य र तथ्यलाई युरोपेली र पश्चिमा मुलुकले समयमै पहिचान गरेका थिए । त्यसैले कलाको धारणाप्रति हामीभन्दा उनीहरूमा आएको चेतनशीलता, बुझाइ र जागरुकता निकै बुढो छ । 

आधुनिक कलाको क्षेत्रमा हामी पश्चिमा र युरोपेलीभन्दा झन्डै सय वर्ष अघिपछि छौँ । किनकि पश्चिमी देशमा आधुनिकता र नवप्रयोगको प्रक्षेपण हुँदै सफलता हात पर्दा नेपालीको कलाकृति दैवीय वर्णन, प्राकृतिक प्रविधि र वंशाणुगत मौलिक अनुभूतिमा नै केन्द्रित थियो । जब त्यहाँ आधुनिकताको प्रयोग र व्यवहार भयो तब हामी धेरै टाढा थियौँ । नजिकैबाट हेर्ने हो भने अब त आधुनिक कलाको दूरीको सन्दर्भमा हामी दक्षिण एसियाली मुलुकसँग पनि पछि पर्दै गइरहेका छौँ । त्यहाँ एउटा आधुनिक चित्र करोडमा सहजै खरिदबिक्री भएको खबर सुन्दा, सयवटा कृतिको एक अर्ब भारतीय रुपियाँमा लेनदेन भएको सम्झौताको समाचार सुन्दा, नेपालमा भने एउटा चित्र दुई/चार लाखमा खरिदबिक्री भएको सुन्न पनि कठिन छ । परम्परागत कलामा धनी हाम्रो देश आधुनिक कलामा पछाडि पर्नुका कारण भौगोलिकता र गरिबी हो । त्योसँगै मौलिक घरेलु कलामा दैवीतìवको खोजी गर्दैमा धेरै समय खर्चनु र विकसित मुलुकसँग सम्पर्क नहुनु पनि हो । 

कलाक्षेत्रमा यस्ता समस्या आज नहोलान् तर आधुनिक कलाको सन्दर्भमा हामी नगण्यमा नै पर्छौं । दैवीतìवमा सिर्जित थाङ्का, पौभा, मण्डलाजस्ता मौलिक कलाले पछिल्लो चरणमा विकल्पको भूमिका निर्वाह गरेका छन् । तथापि हाम्रो आधुनिक कलाको व्यथा भने जस्ताको तस्तै छ । हामी मौलिक कलाबाट नै आधुनिक कलातर्फ लम्कनुपर्ने थियो तर त्यसो गरेनौँ । पुरातन शैली, प्रविधि र विषयवस्तुलाई एकातर्फ पन्छाएर, पाश्चात्य र युरोपेली मुलुकमा फस्टाएका आधुनिक कला शैलीलाई जानी नजानी अन्धानुकरण गर्दै पछ्याउन थाल्यौँ, जसको फलस्वरूप अतियथार्थवादी कला मात्र पचाएको नेपाली समाजका निम्ति आधुनिक कलाले वितृष्णा जन्मायो । फेरि क्रमबद्धताको अभावले सधैँ सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहनुपर्ने स्थिति सिर्जना भयो ।

यसरी विकसित राष्ट्रको कलाप्रतिको सद्भावबाट के जान्यौँ भने कला महिमाको स्तुति गाउन र विकास गर्न मानव जातिमा कलाप्रतिको चेतनशीलताले मात्र कार्य गरेको हुँदैन, चेतनाको स्तर सँगैसँगै कृतिको आर्थिक मूल्यको मापन गरी खरिद पनि गर्न सक्नुपर्छ । मानौँ, कलामा नागरिक चेतनशील छन् तर गरिब छन् भने त्यहाँ कलाले वाह ! वाह ! मात्र पाउन सक्छ, कृतिले भनेजस्तो मूल्य पाउन सक्दैन । अर्कोतर्फ जनता धनी छन् तर कलाप्रति चेतना शून्य छ भने पनि त्यहाँ कलाको मर्म तुहिएर जान्छ । आजको पश्चिमी र विकसित राष्ट्रमा पैसा, चेतना छ । रोग, भोक, वेदना प्रायः शून्य छ तर हामीकहाँ यस्ता समस्या विकराल छन् । बाँच्न नै कठिन परेको बेला कलाकृति कसरी खरिद गर्नु ? एकाध सम्भ्रान्त परिवारको चेतना र पैसाले आधुनिक कला मौलाउन र झाँगिन सक्दैन ।

नेपालीले कलाकृति खरिद गर्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै गाह्रो हुन्छ । त्यसैले नेपाली कलाकार विदेशमा पलायन हुने र पूर्ण रूपमा निष्क्रिय बस्ने गरेका छन् । स्वदेशमै बाँच्न चाहने कलाकार पनि विदेशी पर्यटक र एकाध सम्भ्रान्तको एकाधिकार स्वीकार गर्न बाध्य छन् । किनकि आज नेपाली आधुनिक वा अन्य कृति खरिद गर्ने ग्राहक केही विदेशी र फाट्टफुट्ट नेपाली मात्र हुन् । विदेशी पर्यटक प्रतीक्षारत नेपाली कलाकार र राजधानीका केही ग्यालरीले ‘आसे’ आकाङ्क्षा बोकेर कनिकुथी चित्र कोर्ने र यदाकदा प्रदर्शनी गर्छन् । साँच्चै भन्ने हो भने आजसम्म नेपालमा कलाबजार व्यवस्थित हुन सकेको छैन । यस सन्दर्भमा सरकार, कलाकार, कला समालोचक तथा सम्पूर्ण कलाप्रेमी सचेत हुन नसके भोलिका दिनमा नेपाली आधुनिक कला झन् झन् जीर्ण बन्दै जानेछ ।