• ३० जेठ २०८२, शुक्रबार

जसपा मकवानपुरले जिल्ला अधिवेशन बहिष्कार गर्ने

blog

पत्रकार सम्मेलन ।

स्मिता अर्जेल

मकवानपुरगढी, चैत १४ गते। आगामी शनिबार हुन गइरहेको जनता समाजवादी पार्टी (जसपा) मकवानपुरले जिल्ला अधिवेशनमा सहभागी नभई विरोध जनाउने भएको छ। 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै १२ सदस्यीय सिंगो कार्यसमितिले अधिवेशनको वहिष्कार गर्ने योजना बनाएको पार्टीका जिल्ला सचिव दिपक सिन्तानले बताउनुभयो। अधिवेशनमा विरोध गर्दै कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेको छ।

यसअघि गत मंसिर २९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले आगामी वैशाख २५ गतेभित्र अधिवेश सम्पन्न नगर्ने प्रदेश, राष्ट्रिय समिति तथा भातृ संगठन स्वत विघटन हुने निर्णय गरेको थियो।    

पार्टीका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले पार्टीको विधान विपरित जिल्ला कार्यसमितिलाई जानकारी बेगर अर्काे जिल्ला कमिटी खडा गरेको भन्दै आफूहरु त्यसको विरोधमा उत्रिएको सचिव सिन्तानले बताउनुभएको छ। 

जिल्ला अध्यक्ष सोमबहादुर घलानले केन्द्रीय उपाध्यक्ष बज्राचार्यले आफूखुसी व्यक्तिगत संगठन निर्माण गरी पार्टीभित्र अराजकता निम्त्याएको आरोप लगाउनुभयो। उहाँले संगठनले विवाद समाधान नगरे सिंगो टिमले निरन्तर विरोध जनाउने चेतावनी समेत दिनुभयो। 

“गत पुस १४ गते पार्टी केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले विशेष भेला भन्दै जिल्ला कमिटी भंग भन्दै नयाँ कमिटी खडा गरे। यसले पार्टीको विधि, विधानसँग के सम्बन्ध राख्छ ?” अध्यक्ष घलानले भन्नुभयो। 

यसै सन्दर्भमा संगठन विभाग प्रमुख केन्द्रीय महासचिव लालबाबु राउतले जिल्ला संगठनको विवाद टुंग्याउने जिम्मा पार्टीको भएको र त्यसको समाधानका निम्ति आश्वासन दिनुभएको घलानले बताउनुभयो। “पार्टीको भातृ संगठन, वडा कमिटिको अधिवेशन बाँकी नै रहँदा अधिवेशनको तयारी भएको छ। केन्द्रले विधि अनुरुप चल्न निर्देशन दिँदा समेत अधिवेशनको तयारीप्रति हाम्रो विरोध छ”, उहाँले भन्नुभयो। 

गत २०७९ असोज ५ गते जिल्ला अध्यक्ष सोमबहादुर घलानको अध्यक्षता र पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको सहमतिमा १३ सदस्यीय कमिटी गठन गरिएको थियो।