जीवछ यादव
लहान, चैत १४ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गणतन्त्र सवल भए मात्र पत्रकारिताको सफलता हुने भएकाले सञ्चार क्षेत्रले खबरदारी गरिरहनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
मिडिया काउन्सिल मधेश प्रदेशले आयोजना र नेपाल पत्रकार महासंघ सिरहा शाखाको समन्वयमा पत्रकार आचार संहितासम्बन्धी एक दिवसीय गोष्ठीलाई आज विहीबार लहानमा उदघाटन गर्दै यस्तो बताउनुभएको हो ।
‘स्वतन्त्र पत्रकारिताको भविष्य लोकतान्त्रिक गणतन्त्रमा मात्र हुने भएकाले गणतन्त्रमाथि धावा बोल्ने प्रतिगामी शक्तिलाई परास्त गर्न मधेश प्रदेशको पत्रकारले यतिबेला कलम चलाउनुपर्ने उहाँले आग्रह गर्नुभयो । यो देशमा राणा राजाको कालखण्डमा पत्रकारले स्वतन्त्र भएर कलम चलाउन पाएको थिएन ।
निरकुंश शासन फाल्न पत्रकारको अहम भुमिका रहेको थियो । जब लोकतान्त्रिक व्यवस्थामाथि खतरा आउने गर्छ, त्यतिबेला नेपाली पत्रकारले निर्भिकतापूर्वक कलम चलाएकै हो’ उहाँले स्मरण गराउनुभयो । मन्त्री लेखीले थप्नुभयो, ‘मधेश प्रदेशले ल्याउने सञ्चार ऐनमा पत्रकारलाई आत्मनिर्भर बनाउने र जारी आचार संहितालाई टेकेर कलम चलाउन स्वतन्त्र वातावरण बनाउने गरी ऐन ल्याउने तयारीमा छौँं ।’
मधेश प्रदेशका पत्रकारले जोखिमता मोलेर भए पनि आवाजविहीन नागरिकहरुको आवाज लेख्ने र बोल्नेक्रममा भइरहेको आचार संहिता उल्लङ्घनका घट्नाप्रति प्रेस काउन्सिल मधेश प्रदेशले प्रत्येक जिल्लामा आचार संहितासम्बन्धी गरिरहेको गोष्ठी सराहनीय रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार राजेशलाल कर्णले सहजीकरण गर्दै बताउनुभयो ।
प्रत्येक दिन डिजिटल मडिया र छापा मिडियाबाट प्रकाशित समाचारहरुप्रति प्रेस काउन्सिल गम्भीर भएर अनुगमनगरी साकारात्मक पक्षलाई ग्रहण र कमजोरी पक्षलाई सच्याउन काम गरिरहेको मधेश प्रदेशका काउन्सिल अध्यक्ष कैलाश दासले प्रष्ट याउनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारले पत्रकारिता क्षेत्रलाई आत्मनिर्भर बनाउनुको साथ मर्यादित पत्रकारिताको लागि मधेश प्रदेशले पत्रकार हकहितलाई ध्यानमा राखेर सञ्चार ऐन ल्याउनुपर्ने विषयमा ध्यानाकर्षण गराएको थियो ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता पत्रकार रामबाबु यादव जीवछ यादव, जीवछ चौधरी यमुना खनाल शिवकुमार साह, विवेक परियारलगायतका पत्रकारले सिरहाको पत्रकारले खेपेका जोखिमताको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।