• १७ चैत २०८१, आइतबार

तीन वर्षअघि गरिएको वारुणयन्त्र खरिदको निर्णय कार्यान्वयन हुन सकेन

blog

यादवराज पुरी
रौतहट, चैत १४ गते ।
तीन वर्षअघि जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाका सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भनि गरेको निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

आगलागीबाट बर्सेनि जनधनको ठुलो क्षति हुँदा पनि रौतहटका पालिकाले आगो निभाउने यन्त्र खरिदमा बेवास्ता गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले गरेको उक्त निर्णय हालसम्म कार्यान्वय हुन सकेको छैन ।

बैठकमा आगलागीको घटनाप्रति सर्वसाधारणमा सजगता अपनाउन चेतना अभिवृद्धि गर्ने, वारुणयन्त्र खरिदका लागि सबै पालिकालाई अनुरोध गर्ने, एउटा पालिकाले खरिद तथा सञ्चालन गर्न सक्षम नभए दुई वटा पालिकालाई मिलाएर खरिद गर्न पहल गर्ने, वारुणयन्त्र खरिद नहुञ्जेलसम्म पानी भरिएको ट्याङ्कर तयारी अवस्था राख्न सबै पालिकामा अनुरोध गर्ने निर्णय भएको थियो ।

१६ वटा नगरपालिका र दुई वटा गाउँपालिका रहेको यस जिल्लामा चन्द्रपुर र गौर नगरपालिकामा मात्र एक÷एक वटा वारुण यन्त्र छ । गरुडा नगरपालिकाले भने ट्याक्टरमा ट्याङ्कर जडान गरी काम चलाउ यन्त्र सञ्चालनमा ल्याएको छ जुन लामो दूरीका लागि उपयुक्त नभएको जनगुनासो छ । रौतहटको आवश्यकताअनुसार वारुणयन्त्र नभएपछि यहाँका नागरिकान सधैँ आगलागीको त्रासमा भइरहने समाजसेवी एवम् शिक्षा प्रेमी बिन्दा सहनी बताउनुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटी रौतहटका सदस्य घनश्यामसुन्दर श्रेष्ठ भन्नुहुन्छ, “आगलागी भइ हाल्यो भने मात्र दुई वटा वारुणयन्त्रले आगो नियन्त्रण गर्न हम्मे हम्मे पर्छ । एकै पटक विभिन्न स्थानमा वा धेरै घरमा आगलागी भइहाल्यो भने छिमेकी जिल्लाको सहयोग लिनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा पनि पालिका प्रमुख र उपप्रमुख लाखौं मूल्य पर्ने विलासी गाडी खरिद गरी चढेका छन् तर वारुणयन्त्र खरिदतर्फ बेवास्ता नै गरेको देखिन्छ ।” 

दैवि प्रकोप उद्धार समितिको उक्त निर्णय बमोजिम तीन वर्षअघि जिल्लाको गढीमाई र वृन्दावन नगरपालिकाले संयुक्तरूपमा वारुणयन्त्र खरिद गर्ने सहमती गरेको तर विविध कारणले कार्यान्वयन भने हुन नसकेको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार अहिले गरुडा, वृन्दावन र माधवनारायण नगरपालिका मिलेर खरिद गर्ने भनी सरसल्लाह भइरहेको छ ।  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय विपद् व्यवस्थापन तथा पूर्व तयारीका लागि वारुणयन्त्र, एम्बुलेन्सलगायत अति आवश्यक सामग्री खरिद, व्यवस्थापन र सञ्चालन गर्न सकिने कानुनी अधिकार प्राप्त गरेपनि निर्वाचित जनप्रतिनिधिले त्यसतर्फ खासै चासो देखाएको पाइदैन । भर्खरै रौतहट आउनुभएका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का भन्नुहुन्छ, ‘‘जिल्ला प्रशासन कार्यालयको मिटिङमा स्थानीय तहका प्रमुखलाई आगलागी तथा डढेलो नियन्त्रण गर्न प्राथमिकताका साथ वारुणयन्त्र खरिद गर्न अनुरोध गरिन्छ । दुई वा सोभन्दा बढी नगरपालिका मिलेर भए पनि विपद् व्यवस्थापनका लागि नभइ नहुने त्यस्ता सामग्रीलाई पालिकाले पहिलो प्राथमिकतामा राख्नै पर्छ ।’’