राजु लामिछाने
रुकुमपश्चिम, चैत १४ गते । रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।
बुधबार बेलुका सडक बिस्तारको क्रममा मुसीकोट नगरपालिका १२ जमारीमा सुख्खा पहिरो खसेपछि विद्युको पोल भाँचिनुका साथै विद्युत लाइनको तारमा समेत समस्या आएको विद्युत वितरण केन्द्र रुकुमपश्चिमले जानकारी दिएको छ ।
केन्द्रका इलेक्ट्रिकल फोरमेन प्रेम प्रकाश चापागाईका अनुसार सुख्खा पहिरोको कारण ११ केभि लाइनको पोल भाँचिएको छ भने अन्य सात वटा पोलको तार भुइँमा लत्रिएको छ । यो समस्यापछि मुसीकोट नगरपालिका वडा नम्वर १२, चौरजहारी नगरपालिका वडा नम्वर १३ र १४ र त्रिवेणी गाउँपालिकाको वडा नम्वर ७, ८, ९ र १० मा विद्युत सेवा अवरुद्ध भएको छ ।
सुख्खा पहिरो गएको स्थानमा विद्युत लाइन मर्मतका लागि मर्मत टोली परिचालन भएको छ । बिहीबार बिहानैबाट मर्मत कार्य सुरु गरिएको र बेलुकासम्म विद्युत सेवा सुचारु हुने ईलेक्ट्रिकल फोरमेन चापागाईले जानकारी दिनुभयो ।