बेइजिङ, चैत १४ गते । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबिच सशक्त साझेदारी’ का लागि आह्वान गर्नुभएको छ ।
युक्रेनमा रुसी युद्धको समाधानका साथै मध्यपूर्वको द्वन्द्व र चीन र युरोपेली सङ्घबिचको व्यापार तनावको समाधानमा वार्ता केन्द्रित हुने पेरिसले अपेक्षा गरेको छ ।
ब्यारोटले बिहीबार बिहान बेइजिङमा चीनका उच्च कूटनीतिज्ञ वाङलाई भेटेर भन्नुभयो, “जताततै सङ्कटको गति तीव्ररूपमा बढिरहेको छ। यतिबेला चीन र फ्रान्सबिचको सहकार्य सशक्त हुनु जरूरी छ ।”
कोरियाली प्रायद्वीप र युक्रेनमा बेइजिङ र पेरिसबिच ‘मतभेद’ रहेको स्वीकार गर्दै उहाँले भन्नुभयो, “हाम्रा दुई देशले मिलेर काम गर्नुपर्छ ।”
“राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरूको सामना गर्दै द्रुत गतिमा नयाँ युरोप उदय भइरहेको छ । यसको एकमात्र मार्गनिर्देश रणनीतिक स्वायत्तता हो,” उहाँले भन्नुभयो ।
“यो नयाँ युरोपले आफ्नो रक्षा, ऊर्जा सुरक्षा र भविष्यका प्रविधिहरूमा ठुलो लगानी गरिरहेको छ,” ब्यारोटले भन्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो हित र मूल्य मान्यताको रक्षाका लागि फ्रान्स विशेष सजग रहनेछ ।”
भेटमा चिनियाँ कुटनीतिज्ञ वाङले ‘अन्तर्राष्ट्रिय परिस्थिति फेरि परिवर्तन भएको र यो अझ अराजक हुने’ चेतावनी दिनुभएको थियो । उहाँले दुवै देशलाई ‘बहुपक्षीयताको पालना गर्न’ र ‘विश्व शान्ति र विकासका लागि मिलेर काम गर्न’ आग्रह गर्नुभयो ।
ब्यारोटले चीनमा रहेका फ्रान्सेली विद्यार्थीहरूसँगको भेटमा भन्नुभयो, “वर्तमान सन्दर्भमा भूराजनीतिक स्थिरता, समृद्धि र हाम्रो ग्रहको भविष्यको सेवामा शक्तिशाली फ्रेन्को–चिनियाँ साझेदारीको पहिलेभन्दा बढी आवश्यकता छ,” उहाँले विद्यार्थीहरूलाई भन्नुभयो ।
चीनले यस साताको ब्यारोटको भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबिचको सहकार्यलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेको छ ।
जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सङ्केत गर्दै दुवै पक्षले ‘एकपक्षीयता र जङ्गलको कानुनको पुनरुत्थान’ को संयुक्त रूपमा प्रतिरोध गर्ने उपायबारे छलफल गर्ने बताइएको छ ।
रूसमाथि दबाब
बेइजिङमा उच्च अधिकारीसँगको भेटपछि ब्यारोट चिनियाँ आर्थिक नगरी साङ्घाई जान कार्यक्रम रहेको छ । साङ्घाइमा रहँदा उहाँले फ्रान्स–चीनबिचको एक व्यापार मञ्चमा भाग लिने र शुक्रबार एयर लिक्विड समूहद्वारा निर्मित हाइड्रोजन उत्पादन प्लान्टको उद्घाटन गर्नुहुनेछ ।
बेइजिङले यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने बताएको छ ।
फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्ध बढाउन खोजेका छन्, तर पेरिसले मस्कोसँगको सम्बन्धलाई लिएर बेइजिङको नीति परिवर्तन हुनुपर्ने दबाब दिएको छ । युक्रेनको आक्रमणपछि चीन र रूसबिचको पारस्परिक सम्बन्ध थप बलियो भएको छ।
चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ रहेको बताएको छ ।
चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक सहयोगी हो र नेटोका सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘निर्णायक सहयोगी’ को संज्ञा दिएका छन् । रासस/एएफपी