• १७ चैत २०८१, आइतबार

कैलालीमा पुल निर्माण सुस्त

blog

प्रदेश सरकारको लगानीमा सुर्मी नालामा बनिरहेको पुल । तस्बिर : दिनेश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १४ गते । कैलालीमा प्रदेश सरकारको लगानीमा बन्दै गरेको तीन सडकको पुल निर्माणको कार्य सुस्त बनेको छ । सुर्मिनाला पुल, चौमाला पुरानो बजार नदी पुल र अण्डैया जाने बाटोमा पर्ने कटैनी नदीमा बनिरहेको सडक पुल निर्माणको कार्य सुस्त भएको हो । 

आर्थिक वर्ष २०७६-७७ मा ठेक्का भइ निर्माण कार्य अगाडि बढाइएका पुलको भौतिक प्रगति आधामात्रै भएका छन् । बहुवर्षीय आयोजनाका यी पुलहरुको भौतिक प्रगति सन्तोषजनक नदेखिएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । 

कैलारी गाउँपालिका–३ सुर्मी नालामा बनिरहेको सडक पुलको दुई पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा भएको छैन । २६ मिटर सो पुलको चार करोड ९६ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण कम्पनीले तीन करोड ६१ लाख रुपियाँ भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

यस पुल निर्माणका लागि आर्थिक वर्ष २०७६-७७ मा धनगढीकै थेगिम कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो। २०७८ पुस १८ मा निर्माण कार्य पूरा भइसक्नु पर्ने पुल दुई पटक म्याद थप गर्दा पनि अझै अधुरै छ । 

यस्तै, गौरीगङ्गा नगरपालिका–१ र २ जोड्ने चौमाला पुरानो बजार नदीमा बनिरहेको पुलको भौतिक प्रगति ५० प्रतिशतमात्रै पुगेको छ । सात करोड २३ लाख ८० हजार रुपियाँ लागतमा यो पुल बन्दै छ । 

वाइपी कन्स्ट्रक्सनले यो पुल बनाउने जिम्मा पाएको छ । निर्माण कम्पनीले हालसम्म दुई करोड तीन लाख ४० हजार रुपियाँ भुक्तानी लिइसकेको जनाइएको छ । यो पुल निर्माणमा १२ करोड ७३ लाख ६८ हजार रुपियाँ लागत अनुमान गरिएको थियो । 

यसैगरी, गौरीगङ्गा नगरपालिका–५ र ९ जोड्ने अण्डैया जाने बाटोमा पर्ने कटैनी नदीमा बनिरहेको पुलको भौतिक प्रगति ६० प्रतिशतमात्रै पुगेको छ । यो पुल निर्माणको ठेक्का पनि वाइपी कन्स्ट्रक्सनले पाएको छ । आठ करोड ९५ लाख ८२ हजार लागत अनुमान गरिएको पुलको ठेक्का पाँच करोड २८ लाख रुपियाँमा भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर विनोद खड्काले बताउनुभयो । 

यो पुल निर्माणमा हालसम्म तीन करोड ७९ लाख ५४ हजार रुपियाँ बजेट खर्च भइसकेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा कैलालीमा प्रदेश सरकारको लगानीमा तीन वटा पुल आयोजना कार्यान्वयनको क्रममा रहेको इन्जिनियर खड्काले बताउनुभयो । “अरु पुलको काम सकिएको छ”, उहाँले भन्नुभयो ।