• १९ चैत २०८१, मङ्गलबार

न्यूनतम सेवा मापदण्डमा खस्कियो बैतडी अस्पतालको अङ्क

blog

जिल्ला अस्पताल बैतडी । तस्बिर : केशब राज भट्ट

केशवराज भट्ट
बाशुलिङ्ग (बैतडी), चैत १४ गते ।
विगतका वर्षमा न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा देशभरीमै उत्कृष्ट हुने जिल्ला अस्पताल बैतडीको अङ्क यस वर्ष भने खस्किएको छ ।

यस वर्ष बैतडी अस्पतालको चार अङ्क घटेर ८९ पुगेको छ । गएको वर्ष ९३ अङ्क प्राप्त गरेको बैतडी अस्पतालले यस वर्ष चार अङ्क कम पाएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताउनुभयो ।

अस्पतालमा जनरल फिजिसियन डाक्टर नहुनुले अस्पतालको अङ्क घटेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘‘अन्य कुरामा बरु सुधार भएको छ । तर अस्पताल व्यवस्थापन समिति र जीपी डाक्टर नहुनुको कारण यस वर्ष अङ्क घट्यो ।’’

गएको पुुसमा गर्नुपर्ने न्यूनतम स्वास्थ्य सेवा मापदण्डको म मूल्याङ्कन चैत दोस्रो साता हुनुले पनि अङ्क घटेको पाइएको छ । अस्पतालले प्रदान गर्ने सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्य हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गरिँदै आएको छ ।

जिल्ला अस्पताल व्यवस्थापन समितिको म्याद २०८१ चैत्र २ गते सकिएको छ । राजनीतिक नियुक्तका आधारमा बन्ने अस्पताल व्यवस्थापन समितिले तत्काल पूर्णता पाउने अनिश्चित छ ।

सीमित पूर्वाधार र उपकरणका बावजुद समेत अस्पतालले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१५ शय्याको मात्रै दरबन्दी रहेको अस्पतालमा अहिले करिब ५० शय्या बराबरको सेवा उपलब्ध गराइरहेका छौँ । सरकारले ५० शय्याको दरबन्दी स्वीकृत गरिदिने हो भने अस्पतालको सेवा प्रवाहको गुणस्तार अझै वृद्धि हुने थियो ।’’

यस पटक सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले दुबैले अस्पताल व्यवस्थापन समितिको अध्यक्षका लागि दाबी गरिरहेका छन् । जिल्ला खेलकुद विकास समितिको म्याद समेत सकिन लागेकाले दुबै सत्ता साझेदार दलमा भागवण्डा हुने सम्भावना छ ।