सुधा देव
भारदह(सप्तरी), चैत १४ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गङ्गाजलीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।
बिहीबार बिहान ३ बजे स्थानीय सोमप्रसाद आचार्यको गाई गोठमा बालेको घुरबाट आगलागी हुँदा जस्ता र काठले बनेको एकतले गाई गोठ र गोठमा भएको भैंसीको पाडा तथा दुई वटा बाख्रा जलेर नष्ट भएको छ ।
गोठसँगै रहेको घरमा समेत आंशिक क्षति भएपछि १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता एवम् डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
आगो निभाउने क्रममा आचार्यको हात, खुट्टा र शरीर आगोले पोली सामान्य घाइते भएका छन् । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।