• १७ चैत २०८१, आइतबार

चाडपर्वले चलेको विद्यालय

blog

शैक्षिक उन्नयनका लागि सिद्धेश्वर मावि हुक्केडाँडाले आयोजना गरेको मौलिक होली ।

गोकर्ण दयाल

बैतडी, चैत १४ गते । ऋतु अनुसारका चाडपर्वले गाउँघरमा रमाइलो मात्रै ल्याउँदैनन्, शैक्षिक उन्नयनका लागि वरदानसमेत बन्न थालेका छन् । यहाँको एक विद्यालयले होली र देउसीभैलो खेलेर विद्यालयमा बालउद्यान स्थापना, अतिरिक्त शैक्षिक क्रियाकलाप र निजी स्रोतका शिक्षकलाई तलब खुवाउने स्रोत जुटाउँदै आइरहेको छ ।

पाटन नगरपालिका–९, हुक्केडाँडास्थित सिद्धेश्वर माविले शैक्षिक उन्नयनका लागि मौलिक चाडपर्वको उपयोग गर्दै प्रत्येक वर्ष आर्थिक सहयोग जुटाउँदै आएको छ । यो वर्ष शिक्षक, विद्यार्थी र अभिभावकले चार दिन होली खेलेर विद्यालयको खातामा तीन लाख १८ हजार ८५० रुपियाँ जम्मा गरेका छन् । 

चाडबाडका अवसरमा विद्यालयले २०७१ सालदेखि २०८१ सम्म होली र देउसीभैलोबाट १७ लाख ३४ हजार ६१४ रुपियाँ आर्थिक स्रोत जुटाएको छ । सङ्कलन भएको रकम गणित, विज्ञान, सामाजिक पढाउने छ जना निजी स्रोतका विषयगत शिक्षकको तलब भत्तामा खर्च हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताउनुभयो । 

नयाँ पुस्ताले मौलिक होरी (होली) बिर्सदै गएका बेला सिद्धेश्वर माविका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका सदस्यले सन्देशमूलक होली खेलेर स्रोत जुटाउने गरेको उहाँले बताउनुभयो । उहाँले अतिरिक्त शैक्षिक क्रियाकलाप र निजी स्रोतका शिक्षकका लागि वार्षिक लाखौँ रुपियाँ खर्च हुने गरेकामा मौलिक चाडपर्व नै आर्थिक सहयोग जुटाउने माध्यम रहेको बताउनुभयो । छ जना निजी स्रोतका शिक्षकमध्ये पाँच जनालाई नगरपालिकाले मासिक १६ हजार रुपियाँ दिने भए पनि सो रकम अपुग भएकाले विद्यालयले थप रकम बेहोरेर मासिक २७ हजार रुपियाँ तलब दिने गरेको प्रधानाध्यापक गणेशप्रसाद भट्टले बताउनुभयो । विद्यालयको स्रोत जुटाउन होली र देउसीभैलो मुख्य चाड बनेको विद्यालयले जनाएको छ । नयाँ पुराना पुस्ताले सँगसँगै चाडबाड मनाउँदा मौलिक संस्कृति पुस्तान्तरण हुनुका साथै लोकसंस्कृतिको जगेर्ना भएको व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले अनुभव सुनाउनुभयो । 

शिशुदेखि कक्षा १० सम्म पढाइ हुने विद्यालयमा सरकारी स्तरबाट प्राविमा तीन जना मात्रै स्थायी शिक्षक छन् । योबाहेक प्राविमा एक जना राहत शिक्षक, निमाविमा सङ्घीय अनुदान एक र माविमा दुई गरी जम्मा तीन जना अनुदान शिक्षक रहेका छन् । योबाहेक छ जना शिक्षकको तलब मौलिक चाडपर्व देउसीभैलो र होलीबाट सङ्कलन हुने गरेको बताइएको छ । 

सिद्धेश्वर मावि हुक्केडाँडा शैक्षिक गुणस्तरका दृष्टिले मात्रै नभई सरसफाइ स्वच्छताका हिसाबले तीनतारे घोषणा भएको विद्यालय हो । पढाइसँगै यहाँका विद्यार्थी अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमै मैनबत्ती बनाएर सिपमूलक शिक्षासमेत आर्जन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक भट्टले बताउनुभयो । 

विद्यालयले अतिरिक्त शैक्षिक क्रियाकलाप अन्तर्गत प्राङ्गणमै अन्तरपुस्ता संवाद, मातातीर्थ औँसीका दिन आमाहरूलाई सम्मान र कुसेऔँसीका दिन बुवाहरूलाई सम्मान, स्थानीय कला संस्कृति देउडा, फाग, सगुना र धुमारीसमेत खेल्दै आइरहेको छ । ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सिप र अनुभवबाट पनि मौलिक शिक्षा आर्जन गर्न सकिने भएकाले यस्ता विषयलाई अतिरिक्त शैक्षिक क्रियाकलापमा समावेश गरिएको विद्यालयले जनाएको छ ।