• २६ चैत २०८१, मङ्गलबार

झोलुङ्गे पुल निर्माणभएपछि विद्यालय आवतजावत सहज

blog

बकैयाको सिमात खोलामाथि निर्माण गरिएको झोलुङ्गे पुल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, चैत १३ गते ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रेदमारको सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यालय आवतजावत सहज भएको छ । बर्खायामको समयमा पुल नहुँदा सिमात खोलामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेपछि काला भैरव प्राथमिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी खुसी भएका हुन् ।

बकैया गाउँपालिकाको प्राविधिक, चाइल्ड रेसक्यू नेपालको आर्थिक सहयोग र इस्थर बेन्जामिन स्मृति संस्थाको साझेदारीमा निर्माण भएको झोलुङ्गे पुलको मङ्गलबार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । ९० मिटर लम्बाई रहेको लुईस वान्स् स्मृति झोलुङ्गे पुल ४० लाख लागतमा निर्माण गरिएको हो ।

झोलुङ्गे पुलको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, चाईल्ड रेस्क्यू नेपालका कार्यकारी निर्देशक जो बेगा, बकैया गाउँपालिका १२ नं. वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईँ र ईस्थर बेन्जामिन स्मृति संस्थाका उपाध्यक्ष उमा तिमल्सिनाले संयुक्त रूपमा समुद्घाटन गर्नुभएको हो ।

बकैया गाउँपालिका १२ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्नुहुँदै पालिका अध्यक्ष लामिछानेले बकैयामा इस्थर बेन्जामिन स्मृति संस्थाले विद्यालय भवन, शौचालयका साथै पुल पनि निर्माण गरिदिएकोमा धन्यवाद दिनुभयो । उहाँले शैक्षिक क्षेत्रमा संस्थाले गरेको लगानी प्रशंसा योग्य रहेको बताउनुभयो ।

बर्खाको समयमा सिमात खोलामा बाढी आउँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यालय सहयोगी र प्रधानाध्यापक मिलेर विद्यार्थीलाई खोलावारिबाट तारेर पारि लैजाने र विद्यालय बन्द भएपछि पुनः खोला तारेर घर पठाउनुपर्ने बाध्यता हटेको छ ।

सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीय पूर्णबहादुर गोले, विजय घिसिङ, कृष्ण कुमार गोले लगायतका अभिभावकले अब बर्खामा पनि ढुक्कसँग छोराछोरी विद्यालय पठाउन सक्ने वातावरण बनेकोमा खुसी हुनुभयो । २०७२ सालको भूकम्पबाट जीर्ण बनेको विद्यालय भवन समेत पुल निर्माण गरिदिएको संस्थाले नै गरिदिएको हो । पक्की विद्यालय भवन र आवतजावत गर्न सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यार्थी, अभिभावक सबैको अनुहारमा खुसी पनि छाएको छ । सहयोग गर्ने संस्थालाई यहाँका स्थानीयवासीले धन्यवाद समेत दिनुभयो । 

कक्षा तीनसम्म अध्यापन हुने यस विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत रहनुभएको विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेले जानकारी दिनुभयो । यहाँ गोदाम डाँडा, अजिङ्गरे, घेत्रे र डिप्सबाटा लगायतका क्षेत्रबाट विद्यार्थी अध्ययन गर्न आउने गर्नुभएको छ । तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा भौगोलिक विकटताका कारण एक घण्टा टाढाबाट विद्यार्थी हिँडेर आउनुपर्ने बाध्यता छ । २०५३ सालमा निर्माण भएको यस विद्यालय आवतजावत गर्न झोलुङ्गे पुल निर्माण भएपछि बर्खामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।