• २६ चैत २०८१, मङ्गलबार

कोष तथा लेखा नियन्त्रकको कार्यालय भवन उद्घाटन

blog

कोष तथा नियन्त्रक कार्यालय ताप्लेजुङका नवनिर्मित भवनका उद्घाटन गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २५ गते । ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइननजिक निर्माण भएको नयाँ भवनको महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयले सोमबार उद्घाटन गर्नुभएको हो । 

कोष तथा लेखा नियन्त्रकको कार्यालय भवन केही महिनाअघि नै निर्माण सम्पन्न भइसकेको भए पनि सोमबार मात्र उद्घाटन गरिएको छ । कार्यालय भवन करिव छ महिना अघि नै अर्थात २०७७ साल चैत तेस्रो निर्माणको कार्य सुरु गरेर २०८० साल असोज मसान्तभित्र सम्पन्न भएको थियो ।

नयाँ भवनको उद्घाटन भएसँगै सोही भवनबाट कार्यालयको सेवा प्रवाह गर्न सुरु गरिएको कोष नियन्त्रक यमनाथ गिरीले जानकारी दिनुभयो । कोष नियन्त्रक गिरीका अनुसार नयाँ भवन निर्माण भएपछि कार्यालयको सेवा प्रवाहमा थप सहज हुने भएको छ ।

कोष तथा नियन्त्रक कार्यालयका अनुसार नयाँ भवन भ्याट र पिएससहित दुई करोड २८ लाख ९१ हजार ३४५ रुपियाँ बजेटमा निर्माण भएको छ । भवन उद्घाटनमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, उपअनुसन्धान निर्देशक सञ्जय मण्डल, उपमहालेखा नियन्त्रकहरु निरज केसी र ओमप्रसाद रिजालको उपस्थिति रहेको थियो । 

त्यस्तै, जिल्ला समन्वय अधिकारी प्रभा राई, दुर्गादल गुल्मका गुल्मपति सेनानी विक्रम खड्का, प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जन लगायतको उपस्थिति थियो । यता भवन निर्माण गरेको भुक्तानी ढिलो भएकाले सोहीअनुसार उद्घाटन पनि ढिलो भएको निर्माण व्यवसायी कालीबहादुर थेबेले बताउनुभयो ।