• २६ चैत २०८१, मङ्गलबार

पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल

blog

रामचन्द्र रायमाझी

तानसेन (पाल्पा), चैत  २६ गते । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।

यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताउनुभयो । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।  

यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । 

विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गर्दछन् । जङ्गलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरान नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोेका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेख गर्नुभयो ।

केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका-३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका-२ को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।  

निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जङ्गल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङलगायत स्थानमा पनि डढेलो लागेको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका स्थानीयले बस्ती जोगाउन सफल भए पनि मानवीय क्षतिसहित जङ्गल, केही घरगोठ र भौतिक संरचनामा क्षति भएका छन् । 

हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको जनाउँदै प्रमुख भट्टराईले १६ वटा घरगोठ जलेका बताउनुभयो । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्ण रूपमा ननिभ्दा हावाहुरीले पुनःसल्किने समस्या रहेको उहाँले बताउनुभयो । जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा बढी डढेलो लागेको उहाँले जानकारी दिनुभयो । 

अधिकांश डढेलो लागेको जङ्गल नजिकै बस्ती छन् । ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभर सुत्न सक्दैँनन् । हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्कीले बताउनुभयो । “अघिल्लो वर्ष नजिकैको जङ्गलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्लबल्ल बस्ती जोगाउन सफल भए पनि पटकपटकको डढेलोले रातमा निन्द्रा लाग्दैन”, उहाँले भन्नुभयो । 

अहिले पनि यहाँ आगो लागेको छ भन्दै कार्कीले भन्नुभयो, “पहिले छिमेकीको घर जलेको थियो, कतै आफ्नो जल्ने त होइन भन्ने पिरले अहिले पनि सताउँछ । के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेनछ ।” घरमा एक्लै बस्दै आउनुभएकी कार्कीले बढ्दै गएको डढेलोका कारण चिन्ता बढेको बताउनुभयो । दिनहुँ जस्तो भगवान्लाई सम्झिँदै बस्नु परेको उहाँको भनाइ छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेका जनाइएको छ । सुक्खा मौसम तीव्रगतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू(बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ । 

दमकलले बस्ती नजिकेको आगो निभाए पनि जङ्गलको आगो भने नियन्त्रण गर्न नसकिएको वन कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडाका वन, जङ्गल डढेलोको उच्च जोखिममा छन् भने २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।

डढेलो नियन्त्रणका लागि पाल्पाका वनमा अग्निरेखा बनाउने र भएका अग्निरेखा सरसफाइ गर्ने काम भइरहेको भट्टराईले जानकारी दिनुभयो । “गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि वन कार्यालयले डढेलो नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै अग्निरेखा बनाउने कार्यलाई भने तीव्रता दिएको छ”, उहाँले भन्नुभयो । रासस