नवीन सुवेदी
सुर्खेत, चैत २६ गते । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा हर्षविक्रम खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार उम्मेदवारी दिने दिनको अन्तिम समयसम्म खड्काको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । खड्का यसअघिको वाणिज्य संघको निर्वाचनमा लक्ष्मण कँडलेसँग पराजित हुनुभएको थियो ।
खड्का वीरेन्द्रनगरमा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हुनुहुन्छ । अन्य पदाधिकारीमा पनि निर्विरोध पदाधिकारी तथा सदस्य चयन गर्ने प्रयास भइरहेका छ । सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतको निर्वाचन ६ वैशाख २०८२ मा हुने कार्यतालिका थियो ।
यसअघि प्यानल नै बनाएर चुनाव लड्ने व्यवसायीहरु यसपटक सर्वसम्वत नेतृत्व चयनमा लागेका छन् । २०७९ सालमा भएको निर्वाचनमा कँडेल र खड्का आधिकारिक प्यानल बनाएर चुनावमा होमिन ुभएको थियो । त्यतिबेला कँडेलसँग खड्का ४८ मतले पराजित हुनुभएको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र ढकाल, कलाधर उपाध्याय ‘शर्मा’ र प्रेम रावतको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष तारा रावत र कृति गुभाजु शाक्यको उम्मेदवारी परेको छ । उद्योग उपाध्यक्षमा पूर्णप्रसाद जैशी पाण्डे र प्रेम पाण्डेले उम्मेदवारी दिँदा महासचिव पदमा राजु पाण्डे र ज्ञानेन्द्र विश्वकर्माको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा अर्जुनजंग शाही र लक्ष्मण देवकोट तथा उप–महासचिवमा पूर्णप्रसाद अधिकारी, सन्देश रावत र पहलसिंह बस्यालको उम्मेदवारी परेको छ ।