• २५ चैत २०८१, सोमबार

प्राध्यापकले लगाए क्याम्पसमा ताला

blog

आन्दोलनरत आंशिक प्राध्यापकहरू । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत २५ गते । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा आन्दोलनरत आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुख लालमणी आचार्यको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन्।

क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई त्रिभुवन विश्व विद्यालयको परिपत्र अनुसार व्यवस्थापन गर्नुपर्ने मागसहित आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २९ देखि त्रिविको परीक्षामा असहयोग, भण्डाफोर र जेठ २ देखि कक्षा स्थगनसम्मका कार्यक्रम राखिएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज आंशिक प्राध्यापक सङ्घका संयोजक ध्रुव थापाले जानकारी दिनुभयो । 

संयोजक थापाले भन्नुभयो, ‘त्रिविबाट स्पष्ट परिपत्र आए पनि क्याम्पस प्रशासन आंशिक प्राध्यापकहरूको व्यवस्थापनमा उदासिन भए पनि आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।’ आंशिक प्राध्यापकहरूको आन्दोलनपछि त्रिविले २०७८ फागुन २० गते आंशिक प्राध्यापकहरूको व्यवस्थापनका लागि ४२ वटै आङ्गिक क्याम्पसमा परिपत्र गरेकोमा अझै १५ क्याम्पसमा व्यवस्थापनको समस्या छ । 

नेपालगन्जको मव क्याम्पसमा प्राध्यापक सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा आंशिक प्राध्यापक व्यवस्थापनका सन्दर्भमा कार्यदल गठन भएको थियो । सो कार्यदलले २४ जनासम्मलाई व्यवस्थापन गर्न सकिने प्रतिवेदन क्याम्पस प्रशासनमा बुझाएको छ । त्यसमा विभिन्न दबाबमा परेर ७२ जनासम्मको व्यवस्थापन गर्न सकिने पत्र त्रिवि कार्यकारी परिषदमा पठाइएकोमा अस्वीकृत भएको आंशिक प्राध्यापकहरूले जनाएका छन् । क्याम्पसमा एक सय बढी आंशिक प्राध्यापकहरू कार्यरत छन् ।