• १६ चैत २०८१, शनिबार

काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित राजधानीको धुम्बाराहीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा आएको छ । मङ्गलबार स्कुलको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । 

सिप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान हुने भएकाले निजी क्षेत्रसँग साझेदारी गर्न सरकार तयार रहेको धारणा उहाँले व्यक्त गर्नुभयो । 

उहाँले सिप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सिप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो । 

आइएमई ग्रुप र आइएक्सआई कर्पको संयुक्त लगानीमा सञ्चालनमा आएको स्कुलले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्ने छ । स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी दक्ष जनशक्ति तथा प्रोफेसनल उत्पादन गर्ने लक्ष्य लिएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन स्कुलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । मुलुकमा रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा स्कुलले सकारात्मक योगदान दिने अपेक्षा रहेको उहाँको भनाइ थियो । सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यप्राप्तिमा स्कुलले सहयोग पु¥याउने बताउनुभयो ।