शिवराज ढुंगाना
अछाम, चैत १२ गते । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खस्दा मंगलसेनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मंगलसेन नगरपालिका १ कुन्तीका २० वर्षीय जीवन थापा रहनुभएको छ ।
जीवनको जिल्ला अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार रहेका सोही वडाका १७ वर्षीय चेतन थापा घाइते हुनुभएको छ । उहाँको हात लगायतमा चोट लागेको र वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
अछाम सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालनजिक से ७ प १४६९ को नम्बरको मोटरसाइकल दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल सडकभन्दा ३५ मिटर तल अर्को सडक घुम्तीमा पुगेको बताइएको छ ।