अविनाश चौधरी
धनगढी, चैत १२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशले अधिकार पाए भूमि सम्बन्धी समस्या तीन वर्षभित्रै समाधान गर्ने बताउनु भएको छ ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले आज धनगढीमा स्थानीय तहका पदाधिकारीका लागि आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । संघ सरकारलाई अधिकार विकेन्द्रीकरण गर्न आग्रह गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो,“संघमामात्रै अधिकार भएका कारण समस्या भएको हो । प्रदेशलाई अधिकार प्राप्त हुने हो भने, भूमि सम्बन्धी समस्या तीन वर्षभित्रै समाधान हुन्छ ।”
भूमि सम्बन्धी समस्या समाधान हुनु पर्ने हिसाबले प्रदेश सरकारले पहलकद्मी भूमिका निर्वाह गरिरहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले भूमि सम्बन्धी समस्या धेरै ठुलो समस्या रहेको उल्लेख गर्नुभयो ।