• १४ चैत २०८१, बिहिबार

स्याङ्जाका चार पालिकामा क्षयरोग मुक्त अभियान

blog

क्षयरोग मुक्त अभियान अन्तर्गत वालिङ नगरपालिकामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ(स्याङ्जा),चैत १२ गते । स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा सक्रिय छन् । जिल्लाका वालिङ, भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान चलिरहेको हो  ।

क्षयरोगको उच्च जोखिममा रहेका पालिका र जनसङ्खयालाई आधार बनाएर अभियान सञ्चालन गरिएको हो । क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष दश लाखमा १ भन्दा कम बिरामीको सङ्ख्या भएमा अन्त्य भएको मानिने छ । सन् २०५० सम्ममा यो अवस्थामा पुर्याउने सरकारको योजना छ ।

क्षयरोग निवारणका लागि स्थानीय पालिकामा रोग पहिचान, समुदायमा जोखिम समुह पहिचान तथा स्क्रिनिङ्ग, रोग निदान, रोग रोकथाम र उपचार जस्ता क्रियाकलाप भइरहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार पालिकाले पनि विशेष प्राथमिकता दिएर यसको निवारणका लागि काम गरिरहेको छ ।

कार्यक्रम अन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य गरिरहेको पाण्डेले बताउनुभयो । 

जोखिम बढी भएको स्याङ्जामा हरेका वर्ष क्षयरोगी बिरामी बढ्न थाले पछि अभियान सुरु भएको हो । नगरपालिकाले पाँच वर्षमा क्षयरोग मुक्त गर्ने गरी पञ्चवर्षीय योजना बनाएर काम थालेको छ । 

सरकारले सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानअन्तर्गत जोखिम युत्त, पालिकामा काम सुरु गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।

यसैबिच अभियान सुरु भएको वालिङमा चालु आर्थिक बर्षको ८ महिनामा ४६ जना क्षयरोगका बिरामी फेला परेका छन् । अधिल्लो आर्थिक वर्षमा ८६ जना बिरामी पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको यो अवधीमा वालिङमा कुनै बिरामीको पनि मृत्यु नभएको उहाँको भनाइ छ । प्रति लाख जनसङ्ख्यामा २४५ जना बिरामी पहिचान गर्नु पर्ने नीति अनुसार वालिङमा कम्तीमा ११८ जना बिरामी पहिचान गर्नुपर्ने अवस्था रहेको पाण्डेले बताउनुभयो । खोजपड्ताल बढाउँदै लैजादा बिरामीको सङ्खया उहाँको भनाइ छ । 

गरिबी, बसाइँसराइ लगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको छ । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद आचार्यले जानकारी दिनुभयो । 

सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको उहाँको भनाइ छ ।

यस्तै, चालु आर्थिक वर्षको ८ महिनामा स्याङ्जामा ७ जना क्षयरोगबाट सङ्क्रमित बिरामीको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनदेखि फागुन मसान्तसम्म जिल्लाभर १ सय ९९ जना क्षयरोगको विरामी रहेको र ७ जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार, स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । 

वालिङमा दुई जना सङ्क्रमित थपिएसँगै सङ्ख्या बढेको हो । सबैभन्दा धेरै बिरामी पनि वालिङमा नै भेटिएको हो ।