• १३ चैत २०८१, बुधबार

प्राचीन सिद्धरत्ननाथ-देवीपाटन यात्रा सुरु

blog

गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन यात्राका सहभागीहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, चैत १२ गते । नेपाल र भारतलाई जोड्ने प्राचीन समयदेखि चल्दै आएको धार्मिक एवम् ऐतिहासिक गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ-देवीपाटन यात्रा सुरु भएको छ । प्रत्येक वर्ष चैत पञ्चमीको अवसर पारेर हुने यात्रा मङ्गलवारदेखि सुरु भएको हो ।  

घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठबाट सुरु भएको रथसहितको यात्रा २० गते विहान भारतको तुलसीपुरस्थित पाटेश्वरी देवी मन्दिर पुग्नेछ । 

यात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ चौघेराका पीर, पुजारी, भण्डारी, सिराने, साधुसन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वलगायत सर्वसाधारण नागरिक गरेर करिब तीन सयको सहभागिता रहेको गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ चौघेराका व्यवस्थापक हीरानाथ योगीले जानकारी दिनुभएको छ । यात्रालाई आकर्षणक बनाउनका लागि थारू, मगर, अवधीलगायतका नृत्यको टोली छ।

गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन यात्रा ८०९ सालदेखि प्रारम्भ भएको विश्वास गरिन्छ । त्यो बेलादेखि निरन्तर रुपमा चल्दै आएको छ । भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रूपमा रहेको चौघेराबाट करिब एक महिनाको यात्रापछि पाटेश्वरी मन्दिर पुग्ने परम्परा रहे पनि पछिल्लो समय यात्रालाई १३ दिनमा घटाइएको छ ।

गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा चैत १२ गते बिहान पाँच बजे घोराही उपमहानगरपालिका–१७ चौघेरा मठबाट प्रारम्भ भएको छ । चौघेराबाट सुरु भएको यात्रा घोराही उपमहानगरपालिका–३ चौपट्टासम्म केही समयको पूजा आराधनापछि बिश्रामका लागि लमही नगरपालिका–६ देउपुरस्थीत गोरक्षपात्रदेवता मठमा पुग्नेछ । 

देउपुरमा करिब पाँच दिनको बसाइँपछि यात्रा १६ गते बिहान गढवा गाउँपालिकाअन्तर्गत जमुनीबास पुग्नेछ । जमुनीबासमा केही समयको पूजा सकेर यात्रा कोइलावास पुग्नेछ । १७ गते कोइलावासमा एक रात बसेपछि १८ गते बिहान भारतको जनकपुर पुग्नेछ । जनकपुरमा दुई दिन विश्राम गरेपछि चैत २० गते भारतको तुलसीपुरस्थित देवीपाटन मन्दिर पुग्नेछ । त्यहाँ देवीपाटन मठको टोलीबाट भव्य स्वागत हुने गर्दछ । 

यात्रा टोली देवीपाटन करिब पाँच दिन बस्ने र त्यो अवधिमा उक्त मन्दिरमा चौघेराबाट गएको नेपाली पुजारीको टोलीले सम्पूर्ण पूजापाठ गर्ने परम्परा रहेको गोरक्षरत्ननाथ सिद्धरत्ननाथ मठका सदस्य सचिव डा. भोलानाथ योगी बताउनुहुन्छ । 

उहाँका अनुसार उक्त मन्दिरमा २० गतेदेखि २५ गतेसम्म हुने सम्पूर्ण पूजापाठको काम नेपाली पीर, पुजारी, भण्डारी, सिरानेबाट हुने परम्परा रहेको छ । पाँच दिनसम्म उक्त मन्दिरमा पूजापाठ गरेपछि २५ गते राति यात्रा टोली नेपाल फिर्ता हुने कार्यक्रम रहेको सदस्य सचिव योगीले बताउनुभएको छ । यात्रा रातीको समयमा मात्र हुने गरेको छ ।