• १३ चैत २०८१, बुधबार

रोल्पाको मुरुले लेकमा चुनढुङ्गा उत्खनन गर्न नदिने

blog

शुभम् खनिज उद्योगले चुनढुङ्गा उत्खनन गरिरहेको क्षेत्र ।

पहलमान घर्ती

होलेरी (रोल्पा) चैत १२ गते । रोल्पाको मुरुले लेकमा सिमेन्ट उद्योगलाई चुनढुङ्गा उत्खनन गर्न नदिने स्थानीयले बताएका छन् । चुनढुङ्गा उत्खननका लागि शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । 

चुनढुङ्गा उत्खनन गर्ने स्थानभन्दा एकसय मिटरमाथि लेकमा स्थानीयले ऐतिहासिक ठाउँ भन्दै मन्दिर बनाएका छन् । चुनढुङ्गा उत्खनन रोक्नका लागि स्थानीय केशवराज चन्दको नेतृत्वमा मुरुले बचाउ सङ्घर्ष समिति नै गठन गरेका छन् । 

मन्दिरको एक सय मिटर मुनिबाट चुनढुङ्गा निकालेर एक वर्षसम्म सम्राट सिमेन्टलाई उपलब्ध गराइएको थियो । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा उत्खनन्का लागि अनुमति दिएको बारेमा स्थानीयले धेरैपछि मात्रै थापा पाएका थिए । गैरकानुनीरुपमा उत्खनन गरिरहेको शुभमले अनुमति पाएकै ठाउँबाट उत्खनन् गर्ने तयारी गरेपछि स्थानीयले त्यसलाई रोकेका थिए ।

मुरुले बचाउन सङ्घर्ष समितिका अध्यक्ष केशवराज चन्दले उद्योगले स्थानीय जनतालाई जालझेल गरेर ढाँटेको आरोप लगाउनुभएको छ । पुनः वातावरणीय परीक्षण गरी स्थानीयको जमिन समेत लिएर इस्लाबाङमा मात्रै उत्खनन गर्नुपर्ने चन्दले बताउनुभयो । जहाँबाट अनुमति पाएको छ त्यहीँबाट मात्रै चुनढुङ्गा उत्खनन गर्नुपर्ने स्थानीयको माग छ । 

उद्योगले स्थानीय जनतालाई ढाँटिरहेको भन्दै कहाँबाट उत्खनन गर्ने हो सत्य कुरा बताउन स्थानीय पार्वती लामिछानीको माग छ । पर्यटकीय क्षेत्रलाई असर पर्ने गरी चुनढुङ्गा निकाल्न नदिने लामिछानिले बताउनुभयो ।

शुभम् खनिज उद्योगले चुनढुङ्गा उपलव्ध गराइरहेको सम्राट सिमेन्टका जनसम्पर्क अधिकृत सरोज शाहले स्थानीयको सल्लाह अनुसार नै उद्योगले उत्खनन गर्ने बताउनुभयो । उद्योग स्थानीयभन्दा बाहिर गएर काम गर्न सक्दैन, हामी स्थानीयकै साथमा हुन्छौं । 

अनुमति लिएको ठाउँभन्दा बाहिरबाट उत्खनन गरिरहेको शुभम् खनिज उद्योग र चुनढुङ्गा लगिरहेको सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता पालना नगरेको भन्दै स्थानीय रुष्ट बन्दै आएका छन् । २०७६ मा स्थानीयसँग गरेको १४ बुँदे सहमति कार्यान्वयन नभएको बताएका छन् । 

१४ बुँदाको सहमतिमा  उद्योगले स्थानीय त्रिपुरेश्वरी आवि खाराको भवन निर्माण गरिदिने र शिक्षकको तलब उपलव्ध गराउने भनिएको थियो । भवन नबनाए पनि शिक्षक तलबका लागि साढे चार लाख वार्षिक दिने गरेकोमा २०७९ सालपछि रोकिएको छ । उद्योगले दिने रकमकै आधार मानेर विद्यालयमा राखिएका चारजना शिक्षकले तलव पाउन सकेका छैनन् । केही वर्षको तलब गाउँपालिकाको अनुदानबाट मिलाए पनि २०८१ साउनदेखि शिक्षकहरुले एक पैसा पनि नपाएको विद्यालयका प्रधानाध्यापक रणबहादुर डाँगीले बताउनुभयो ।

सहमति पालना नहुने जस्ता समस्या भए पनि अब नयाँ हिसाबले सहमति गरेर अघि बढ्नुपर्ने रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष धनबहादुर घर्तीले बताउनुभयो । शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट मुरुले क्षेत्रको चार दशमलव पाँच हेक्टर जमिनमा चुनढुङ्गा उत्खननका लागि अनुमति पाएको छ ।