• १६ चैत २०८१, शनिबार

साधनस्रोतको अभावमा स्थानीय तह

blog

पाँचथर जिल्लाको अति सुक्खाग्रस्त र विकट स्थानीय तहका रूपमा चिनिन्छ तुम्बेवा गाउँपालिका । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका हो तुम्बेवा । १४७.३४ वर्ग किमी क्षेत्रफलमा फैलिएकोे बसाइँसराइ पनि समस्या रहेको तुम्बेवाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार ११ हजार १८९ मात्र रहेको छ । यस गाउँपालिकाको प्रमुखका रूपमा म्युजिक भिडियो, चलचित्रमा समेत अभिनय गरेर मोडल/नायकको पनि परिचय बनाउनुभएका ३८ वर्षीय बाबुराम खड्का हुनुहुन्छ । उहाँसँग गोरखापत्र दैनिकका पाँचथर समाचारदाता नारायण तुम्बापोले पालिकाको विकास निर्माणलगायतका समसामयिक विषयमा गर्नुभएको कुराकानी : 

स्थानीय तहको नेतृत्व गरिरहँदा कस्तो अनुभव गरिरहनुभएको छ ? 

स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएसँगै धेरै चुनौती पनि भोग्नु परिरहेको छ । चुनौतीसँगै धेरै सम्भावना पनि जोडिएर रहेका हुँदा रहेछन् भन्ने पनि महसुस गर्दै छु । विशेष गरी मुलुक सङ्घीयतामा गइसकेपछि शक्तिशाली स्थानीय तहको नेतृत्व गर्ने जिम्मेवारी हाम्रो काँधमा आइप-यो । यस हिसाबले हामीले अधिकारसम्पन्न स्थानीय तहको नेतृत्व गर्न पाउँदाको हाम्रो अनुभवले के भन्छ भने स्रोतसाधनसहितको अधिकार स्थानीय सरकारलाई थपिदिनु पर्दछ । स्थानीय सरकारलाई अझै मजबुत ढङ्गबाट अगाडि बढ्न दिनु पर्छ । स्थानीय सरकार भ्रष्टाचाररहित चुस्त दुरुस्तका साथ राजनीतिक चस्मा नलगाइकन अघि बढ्ने हो भने समृद्ध बन्छ । ७५३ वटै स्थानीय तह सक्षम बने भने सिङ्गो मुलुक बन्न धेरै समय लाग्छ जस्तो लाग्दैन । अहिलेको हाम्रो सबैभन्दा अप्ठ्यारो र हामीले चाहे जस्तो कार्यसम्पादन गर्न नसक्नु, जनताको तीव्र विकासको अपेक्षा पूरा गर्न नसक्नु एउटै कारण हो, पर्याप्त स्रोतसाधनको अभाव । हामीलाई बजेटको व्यवस्थापन प्रदेश, सङ्घ सरकारले राम्रो ढङ्गले गरिदिने हो भने मुलुकलाई समृद्धिको यात्रामा मज्जाले हिँडाउन सकिन्छ जस्तो अनुभूत गरिरहेको छु ।

चुनावी अभियानका क्रममा तपाईंले गर्नुभएका प्रतिबद्धता के कति पूरा गर्नुभयो ?

अहिले सामाजिक सञ्जालदेखि लिएर विभिन्न माध्यमबाट जनप्रतिनिधिप्रति आमनागरिकले असन्तुष्टि र आलोचना व्यक्त गरिरहेका छन् । यसको मुख्य कारक राजनीतिक नेतृत्वले हिजो भोट माग्ने क्रममा विभिन्न किसिमका पूरा गर्न नसक्ने सपना देखाएका छन् । मतदातालाई ढाँटको सिकार बनाइयो जस्तो लाग्छ । मैले २०७९ को स्थानीय तह निर्वाचनमा तुम्बेवा गाउँपालिका अध्यक्षको उम्मेदवार भएर भोट माग्ने क्रममा त्यो काम गरिनँ । निर्वाचनमा जाँदा घोषणापत्रसमेत बनाइनँ । यसको अर्थ यो नलागोस् कि तुम्बेवामा गर्न सकिने विकासको कुनै भिजन हामीसँग थिएन । हामीले देखेका थियौँ गाउँपालिकाका समस्या यी यी हुन् भनेर । नढाँटिकन सम्बोधन गर्न सकिने खास खास कुरा उठान गर्दा नागरिकको मन जित्न सकिन्छ । यही सन्दर्भका कुरा राख्दै मैले तुम्बेवाको लागि बफादार भएर काम गर्छु भन्ने अनुरोध जनतासामु गरेको थिएँ । यिनै कुरामा विश्वास गरेर मतदाताले जनमत दिए । अहिले उपलब्ध साधनस्रोत र प्राथमिकताका आधारमा गाउँपालिकाबाट प्रवाह हुने सबैखाले सेवा र विकास न्यायसङ्गत ढङ्गले वितरण गर्नमा जोड दिइरहेको छु । जनभावनाविपरीतको काम मैले गरेको छैन । यसमा जनता सन्तुष्ट छन् भन्ने पनि महसुस भइरहेको छ । 

तपाईंले सम्पन्न गर्नुभएका उल्लेख्य र उदाहरणीय मुख्य काम केके छन् ?  

म निर्वाचित भएर तीन वर्ष नेतृत्व गरिसक्दाको सवालमा भौतिक पूर्वाधारतर्फ धेरै काम भएका छन् । तुम्बेवामा बर्खायाममा तीन महिना यातायात अवरुद्ध हुने गरेका बाटो चौबिसै घण्टा, बाह्रै मास सञ्चालनयोग्य बनाएका छौँ । तमोर कोरिडोरसँग जोडिने लखुवादेखि तुम्बेवा सदरमुकाम मौवा बजारसम्म आउने पक्की सडक निर्माण सम्पन्न हुने चरणमा छ । मौवादेखि राँके–रवि–भेडेटार सडकखण्डको सप्तमी जोडिने १५ किलोमिटर सडक बाह्रैमास नै चल्ने गरी स्तरोन्नति गरेका छौँ । यी सडक तुम्बेवा गाउँपालिकाको लाइफ लाइन हुन् । यसरी नै अरू वडा सदरमुकाम, टोलसँग शाखा सडक सञ्जाल सञ्चालनमा ल्याएका छौँ । हामीले नागरिकको स्वास्थ्य सेवालाई पनि प्रमुख प्राथमिकतामा राखेका छौँ । यो हाम्रो कर्तव्य र जिम्मेवारी पूरा गर्ने क्रममा पाँच शøयाको अस्पताल पनि निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने तयारीमा छौँ । एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । यो सेवा सुत्केरी, अशक्त, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, दीर्घरोगीका लागि निःशुल्क रूपमा प्रदान गरिरहेका छौँ । आवश्यक पूर्वाधार पु-याएर यहाँका जोरसल्ले, मौवा, दशमी, तिल्केनीलगायत मुख्य बजारको सौन्दर्यीकरण गरेका छौँ । सङ्घ, प्रदेशसँग पनि समन्वय, सहयोग लिएर जे जे काम गरिरहेका छौँ, दिगोपनाका साथ परिमाणमा मात्रै नभएर गुणस्तरमा पनि उदाहरणीय देखिने गरी सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ ।   

प्रायः सबै स्थानीय तह भ्रष्टाचारको अखडा बने भन्ने आरोप छ । यस पालिकाको अवस्था के छ ? 

यो एकदमै राम्रो प्रश्न गर्नुभएको छ । म सानैदेखि समाज सेवा र राजनीतिमा सव्रिmय भएँ । विभिन्न सङ्घ संस्थाको नेतृत्व गरेँ । पार्टीगत हिसाबले नेपाली कांग्रेस पार्टी निकट तरुण दलमा आबद्ध भएर काम गरेँ तर कहिले पनि पार्टीमुखी, व्यक्तिमुखी र परिवारमुखी भएर आजको मितिसम्म काम गरेको छैन । मेरो स्वभाव नै बेतिथिविरुद्धको छ । त्यसैले मबाट भ्रष्टाचार हुने र हुन दिने भन्ने हुनै सक्दैन । तुम्बेवा गाउँपालिकाको नेतृत्वमा आउनुको मेरो पहिलो एजेन्डा नै भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति हो । यसप्रति निर्मम भएर काम गरिरहेको छु । 

विकास प्रवर्धनका लागि के कस्ता विधि अपनाउने गरिरहनुभएको छ ?

नियमसम्मतकै विद्यमान विधि प्रव्रिmयाबाट निर्दिष्ट भएर विकाससँग जोडिने गरेका छौँ । यहाँका आवश्यकता पहिचान गर्ने, मागमा आधारित भएर योजना, कार्यक्रम तर्जुमा गर्ने, समाजका अगुवा, जानकार, विषयविज्ञसँगको परामर्श, छलफल गरेर विकासको काम गर्ने गरेका छौँ । यहाँको प्रकृति, संस्कृति, सभ्यताको विकास र अर्थतन्त्र सबलीकरणमा टेवा पुग्ने नीति तथा कार्यव्रmम बनाउनमा जोड दिइरहेका छौँ । सोही अनुरूप बजेट विनियोजन गरेर पूर्वाधार र प्रवर्धनका काम गरिरहेका छौँ । 

तुम्बेवाका समस्या र चुनौती के के रहेका छन् ?

मुख्य गरी पर्याप्त बजेट अभाव तुम्बेवाको मुख्य समस्या हो । जसका कारण यहाँको विकास प्रवर्धनमा असहयोग पुगिरहेको छ । भौगोलिक विकटताका कारण गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा प्रदान गर्नमा पनि हामी असमर्थ हुन विवश छौँ । यी समस्या समाधान गर्न प्रदेश र सङ्घ सरकारले सघाउनु पर्छ । चुनौतीका रूपमा सुक्खाग्रस्त यस क्षेत्रमा खानेपानीको प्रबन्धमा जटिलता छ । यहाँ नावाखोला लिफ्टिङ र तमोर लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रयासरत छौँ । यो आयोजना सञ्चालनमा आए पनि चर्को शुल्क तिरेर पानी खानुपर्ने अवस्था सिर्जना हुने हुँदा यसबाट कमजोर आयस्रोत भएका नागरिकले धेरै व्ययभार भोग्नुपर्ने अवस्था छ । नागरिकको जीवनस्तर र गाउँपालिकाकै अर्थतन्त्र बलियो बनाउनमा धेरै टेवा दिन सक्ने कृषियोग्य जमिन पर्याप्त छन् तर सुक्खाग्रस्त यस क्षेत्रमा सिँचाइ सुविधा व्यवस्थापनमा ठुलो चुनौती छ । यिनै चुनौती तुम्बेवाको विकासका बाधक भएका छन् ।

अवसर र सम्भावना के के रहेका छन् ?

पर्यटन र कृषिले नै यहाँको अवसरसँगै सम्भावना बोकेका छन् । तुम्बेवाको सम्भावना बनेर तुम्बेवाकै काखबाट विशाल तमोर नदी बगिरहेको छ । जुन क्षेत्रलाई जल पर्यटनसँग जोड्न सकिन्छ । यस गाउँपालिकामा मन्दिरसमेत रहेको तुम्बेवा नाम गरेको अग्लो सुन्दर डाँडो छ । यसैको आधारमा तुम्बेवा गाउँपालिकाको नाम पनि राखिएको हो । यसलाई आकर्षक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिने अवस्था छ । तराईका ठुला सहर धरान, दमक बजारनजिक रहेको तुम्बेवामा व्यावसायिक र आधुनिक कृषि प्रणाली अपनाए यसबाट अधिकतम लाभ लिन सकिन्छ । 

बसाइँसराइ समस्या बढ्दो व्रmममा रहेको भन्ने छ । यसलाई रोक्ने प्रयासमा कस्तो के कदम चालिरहनुभएको छ ?

यहाँको बसाइँसराइ समस्याको प्रमुख जड अपर्याप्त खानेपानीका साथै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाहको कमीको प्रभावकारी सुधारमा जोड दिइरहेका छौँ । यी विषयको प्रदेश, सङ्घ सरकारसँग साथ समन्वय गरेर यसको राम्रो प्रबन्ध गर्ने प्रयासरत छौँ ।  

तपाईंको कार्यकाल समाप्त हुँदा तुम्बेवा गाउँपालिकाको समग्र विकासको अवस्था कस्तो हुने अपेक्षा गर्न सकिन्छ ? 

विकट र सुक्खाग्रस्त तुम्बेवालाई थोरै समयमा आहा तुम्बेवा भन्ने बनाउने कुरा त गाह्रो नै छ तर हाम्रो लक्ष्यको प्रयास यसमै केन्द्रित छ । पाँच शøयाको अस्पताल निर्माण सम्पन्न भएको हुने छ । सुविधादायी सडक सञ्जालको विकास भएको पाउने छौँ । व्यवस्थित सिँचाइ योजना सञ्चालन भएको देख्ने छौँ । शिक्षा, संस्कृति, स्वरोजगार जस्ता सामाजिक विकास पनि भएको हुने छ । समग्रमा यहाँका नागरिकले सेवासुविधाको स्तरमा धेरै सुधार भएको महसुुस गर्ने गरी विकास गर्ने मेरो लक्ष्य छ ।