• १५ साउन २०८२, बिहिबार

रिसोर्टमा भएको आगलागीबाट २० करोड क्षति भएको अनुमान

blog

आगलागी भएको रिसोर्ट ।

ज्ञानु पंगेनी 

मध्यविन्दु, साउन १४ गते । नवलपुरको गैडाकोट नगरपालिका –११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा बुधबार भएको आगलागीबाट करिव २० करोड बराबरको भौतिक क्षति पुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले रिसोर्टका सञ्चालक सन्तोष धितालले आगलागीबाट करिब २० करोडको क्षति भएको दावी गर्नुभयो । प्रहरीले पनि क्षतिको यकिन तथ्याङ्क संकलन गरिरहेको नेपालले बताउनुभयो । 

बिहान १० बजेबाट सुरु भएको आगो तीन घण्टामा नियन्त्रणमा आएको थियो ।  आगो दिउँसो १ बजेतिर नियन्त्रणमा लिइएको थियो । नवलपुरको कावासोती नगरपालिका र चितवनको भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगालगीबाट मानवीय क्षति भने भएको छैन । आगलागीको कारण स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ । किचनबाट वा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका रिसोर्ट सञ्चालक धितालको छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । 

रिसोर्टमा भिषण आगो सल्किएपछि मात्र थाहा भएको प्रहरीको भनाइ छ । विदेशबाट फर्किएर धितालले गैंडाकोटमा, ९ वर्ष लगाएर आकर्षक रिसोर्ट निर्माण गरी डेढ वर्ष अघिदेखि मात्र सञ्चालनमा ल्याउनुभएको थियो ।