• १३ वैशाख २०८२, शनिबार

पहिरोको उच्च जोखिममा विद्यालय

blog

बाजुरा समाचारदाता

बाजुरा, चैत  १२  गते । बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लाको लक्ष्मी माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा छ । 

२०७८ को साउन–भदौमा आएको अविरल वर्षाले सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको जोखिममा परेको हो । यो विद्यालयले हिउँदमा बाहिर बसेर पनि पठनपाठन सञ्चालन गर्दै आएको थियो तर यो अब बर्खाको समयमा पहिरोको डरले कता पढाइ गर्ने भन्ने विद्यालयलाई चिन्ता परेको छ । बर्खाको समय थोरै पानी परे पनि पहिरो बग्न सुरु हुन्छ । बालबालिका तथा शिक्षक कक्षामा गएर पढाइ गर्न लागेका बेलामा कतै पहिरो आएर पुर्ने हो कि भन्ने चिन्ता लागेको छ ।  

मार्तडी–कोल्टी सडकको छेउछाउमा नै यो विद्यालय पर्दछ । २०७८ असोज महिनामा जब डोजरले यस विद्यालयनजिकको सडक मर्मत गरियो । त्यस बेलादेखि यो विद्यालयको वरिपरिबाट पहिरो जान सुरु भएको लक्ष्मी माविका प्राधानाध्यापक लालचन्द्र जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयको चारै ठाउँबाट पहिरो गएको छ । हिउँदमा पानी नपर्ने भएकाले त्यसैमा पढाइ गर्यौं । यतिबेला पहिरोले हामीलाई उठ भनिसक्यो तर अन्त जाने ठाउँ कतै छैन । यो बर्खाको समय यहाँका बालबालिलाई कता लिएर पढाउनु चिन्ता छ ।”

विद्यालयको अवस्थाबारे स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई जानकारी गराइसकेको बताउँदै प्राधानाध्यापक जैशीले यसबारे कसैले ध्यान नदिएको गुनासो गर्नुयभो । 

२०७८ देखि विद्यालयको वरिपरि चारैतिरबाट सडकका कारण पहिरो जान सुरु भएपछि यतिबेला विद्यालयलाई थप ठुलो सङ्कट परेको छ । विद्यालयको अवस्था दयनीय छ । विद्यालयलाई त्यहाँबाट अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने जरुरी भइसकेको बताउँदै त्यसका लागि पहल भइरहेको बडीमालिका नरपालिका नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।

विकास गर्ने क्रममा विद्यालयमा खानेपानीलगायतका भौतिक पूर्वाधारमा केही क्षति भएको भए त्यसको प्रहरीसहितको मुचुल्का र विद्यालयको सिफारिस ल्याएर पूर्वाधारमा आएपछि त्यसलाई हेरफेर गर्दै यसको क्षतिपूर्तिका लागि सम्बन्धित निकायले पहल कदमी गर्ने पूर्वाधार विकास कार्यालय अछाम सूचना अधिकारी देवीप्रसाद उपाध्यायले बताउनुभयो ।