• १३ वैशाख २०८२, शनिबार

विपत् प्रतिकार्य योजनामा जुट्न जरुरी

blog

बेलौरी, समाचारदाता

बेलौरी (कञ्चनपुर), चैत १२ गते  । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताउनुभएको छ । कैलालीको अत्तरियामा आयोजित विश्व हिम नदी, जल र मौसम दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सार्कीले विपत्जन्य घटनाले ठुलो मानवीय तथा धनजनको क्षति गर्दै आएकाले सबै मिलेर  विपत् प्रतिकार्य योजनामा सरिक हुनुपर्ने बताउनुभएको हो । 

मन्त्री सार्कीले भन्नुभयो, “विपत्को कुनै निश्चित समय हुँदैन, यसमा सरोकारवाला निकायले संयमित भएर लाग्न जरुरी छ ।” विपत्जन्य घटना न्यूनीकरणमा तीनै तहका सरकारले नतिजाउन्मुख कार्य गर्नुपर्ने र प्रदेश सरकार पनि यसमा खटिने मन्त्री सार्कीले प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पानी पिएर कार्यक्रमको उद्घाटन भएको थियो । मन्त्री हिरा सार्कीले विपत्जन्य घटनाबाट जोगिन विभागको सूचनामा भरपर्नुपर्ने पनि बताउनुभयो ।  मन्त्री सार्कीले ठुला शक्ति राष्ट्रहरू पनि विपत्बाट जुधिरहेका बताउनुहुँदै विपत्बाट हुने क्षति कम गर्न पूर्वतयारीका कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले हिम नदी र जलाधार क्षेत्रमा उचित तरिकाले लाग्नुपर्नेमा जोड दिनुभयो । संरचनालाई बलियो बनाउन व्यक्ति विषेशबाट मात्रै सम्भव नहुने हुँदा संस्थागत सुदृढीकरण हुनुपर्नेमा उहाँले जोडदिनुभयो । कार्यक्रममा बोल्दै दोधाराचाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बूले यस वर्ष दोधाराचाँदनीमा ६२४ मिलिमिटर वर्षा मापन गरिएको र जुन हालसम्मकै अत्यधिक वर्षा पनि भएको बताउनुभयो । 

जल, मौसममा आउने आमूल परिवर्तन र त्यसको पूर्वजानकारीका लागि आमनागरिकलाई समयमै सूचना पु¥याउन मौसम विज्ञानका क्षेत्रमा कार्यरत सरोकारवाला निकायले सही सूचना सङ्कलन गरी विपत् बाट जोगिन समयमै नागरिकलाई सचेत तुल्याउन उचित भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।