राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा),चैत १२ गते । स्याङ्जाको वालिङमा नमुना बसपार्क निर्माण सुरु भएको छ । वालिङ नगरपालिका–८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगरविकास कोषसँगको सहकार्यमा नमुना बसपार्क निर्माण गरिरहेको नगरप्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । बढ्दो सहरीकरण, सवारीको चाप र अव्यवस्थित पार्किङको समस्या कम गर्न बसपार्क निर्माण सुरु गरिएको प्रमुख खांणको भनाइ छ ।
बसपार्क निर्माण गर्न नगरपालिकाले २०७२ सालमा सित्तलनगरमा २० रोपनी जग्गा खरिद गरेको थियो । नगरपालिकाले खरिद गरेको २० रोपनी र सार्वजनिक १० रोपनी जग्गामा नमुना बसपार्क निर्माण भइरहेको प्रमुख खांणले बताउनुभयो ।
स्मार्ट सिटीको नीति लिएर अगाडि बढेको वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो । सवारी पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) अनुरुप बसपार्क निर्माणको काम सुरु गरिएको उपप्रमुख कविता तिवारी गैह्रेको भनाइ छ । डिपिआर अनुसार बसपार्क पूर्णरुपमा निर्माण गरी सञ्चालन गर्न २० करोड रुपियाँ लागत लाग्ने देखिएको छ ।
पहिलो चरणको कामका लागि खिलुङ कालिका–कार्की जेभीसँग सम्झौता भई काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । नौ करोड सात लाख ६० हजार ८६९ रुपियामा सम्झौता भई काम सुरु भएको उहाँको भनाइ छ । नमुना बसपार्क निर्माणका लागि सहरी विकास कोषको ऋण सहयोग तथा नगरपालिकाको आन्तरिक लगानीमा बसपार्कको निर्माण सम्पन्न हुने छ ।
२०८३ असार मसान्त भित्र टर्मिनल भवन,बस तथा कार पार्किङ वर्कसप, विद्युतिय सवारी साधनका लागि चार्चिङ स्टेसन, आन्तरिक सडक, तारबार, आँधीखोलामा सुरक्षा वाल लगायतका काम सम्पन्न हुने वालिङ नगरपालिकाका ईन्जिनियर धु्रव रेग्मीले बताउनुभयो ।
निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिने छ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिने नगरपालिकाका प्राविधिक शाखा प्रमुख मणिप्रसाद तिवारीले बताउनुभयो । लामो दूरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा आठ वटा, प्रतिघण्टा दुई पाङग्रे १० वटा, निजी सवारी कारहरु २० वटा अटाउने उहाँको भनाइ छ ।
बसपार्क सिद्धार्थ राजमार्गसँगै निर्माण हुन लागेको छ । वालिङबाट पर्वतको दक्षिणी भेग, गुल्मी र पाल्पा सम्म पुग्न सजिलो भएकाले बसपार्कको निर्माणसँगै राजमार्गमा जथाभावी पार्किङ गर्ने क्रम घट्ने नगरपालिकाको बुझाइ छ ।