प्राकृतिक सम्पदाले नेपाल धनी मानिन्छ । त्यसमा पनि विकासका लागि धेरै सम्भावना बोकेको क्षेत्र भनेको पर्यटन नै हो । अहिलेको अवस्थामा पनि पर्यटन क्षेत्रले राम्रो आम्दानी गरेको छ । विभिन्न आर्थिक क्षेत्र खस्कँदै गएको अवस्था भए पनि यस क्षेत्रले भने राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको छ । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भए पनि आन्तरिक सूचक खस्कँदै गएका छन् । आन्तरिक उत्पादन खस्कँदै गएकाले उद्योगधन्दा, कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको यस्तो कमजोर अवस्थामा पनि पर्यटन क्षेत्रले भने राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याएकै छ ।
बैङ्क तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा तरलता थुप्रिएको छ । प्रत्येक महिना बैङ्क ब्याजदर घट्दै गएको भए पनि उद्योगी व्यवसायी ऋण लिन चाहिरहेका छैनन् । बजारमा वस्तुको माग सिर्जना नभएकाले कर्जा प्रवाह हुन सकेको छैन । कुल गार्हस्थ उत्पादनको ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको भएकामा अहिले यही क्षेत्र शिथिल भएको छ । त्यसकारण अहिले देशको आन्तरिक अर्थतन्त्र कमजोर भएको छ ।
यस्तो कमजोर अवस्थामा पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने क्षेत्र भनेको पर्यटन नै हो । नेपाल जस्तो अल्पविकसित मुलुकका लागि यस क्षेत्रको विकास नगरी देशको विकास गर्न सकिँदैन । यसको विकासका लागि आवश्यक हुने आधार हामी कहाँ पर्याप्त रहेका छन् । मुख्य समस्या तिनीहरूको परिचालन हुन सकेको छैन ।
नेपालको भौगोलिक अवस्थिति पनि एकदम पर्यटन अनुकूल रहेको छ । दक्षिणको समथर तराईदेखि विश्वको सर्वोच्च टाकुरो सगरमाथा पनि यहीँ पर्छ । दक्षिणदेखि उत्तरतर्फ उचाइ बढ्दै गएकाले विभिन्न प्रकारका हावापानी पाइने हुनाले पर्यटकको रुचि अनुसार उनीहरूको गन्तव्य निर्धारण हुन सक्छ । तराईमा बढी गर्मी हुन्छ भने जति माथि गइन्छ उति ठण्डा हावापानी पाइन्छ । अझ हिमाली क्षेत्रमा त बाह्रै महिना हिउँ हुन्छ । यसरी तराईको प्रचण्ड गर्मीदेखि उच्च पहाडको हिमाली क्षेत्रमा हिउँ हुने हुँदा पर्यटकले आफ्नो रुचि अनुसार भ्रमण गर्न सक्छन् ।
भूधरातल र भौगोलिक अवस्थितिले गर्दा विभिन्न जातजातिको बसाबास भएको र उनीहरूले मनाउने चाडपर्व तथा वेशभूषा पनि विभिन्न किसिमका छन् । यत्ति सानो मुलुकमा यसरी विभिन्न पृथक्ता बिरलै हुने गर्छ । यस कारणले गर्दा पनि नेपाल पर्यटन प्रवर्धनका लागि उपयुक्त छ ।
नेपाल प्राकृतिक सम्पदाले मात्र भरिपूर्ण भएको होइन कि अन्य धार्मिक तथा मठमन्दिर, चैत्य, गुम्बा, पाटीपौवा आदि भएका हुनाले पनि यसको आकर्षण बढ्दै गएको छ । त्यसैले पनि पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ । अहिले बुद्ध धर्मका अनुयायीको ठुलो सङ्ख्या लुम्बिनीमा आइरहेकाले यस क्षेत्रको विकास तीव्र गतिमा भइरहेको छ । पवित्र पशुपतिनाथको मन्दिर पनि नेपालमा भएकाले यहाँ पनि ठुलो सङ्ख्यामा पशुपतिनाथको दर्शन गर्न आउने धार्मिक पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रको विकासमा ठुलो योगदान पुगेको छ ।
पर्यटनलाई नेपालको अर्थतन्त्रको आधारशिला मान्न सकिन्छ । यस क्षेत्रको विकास गर्न जति सहज देखिन्छ, अन्य क्षेत्रको त्यति सहज देखिँदैन । पर्यटन क्षेत्र नेपालको यस्तो क्षेत्र हो, जसको आधारशिला प्रकृतिले नै निर्माण गरिदिएको छ । प्रकृतिप्रदत्त वस्तुको पूर्वाधार निर्माण गर्न सकिए मात्र पनि राज्यले ठुलो आम्दानी गर्न सक्छ ।
कुनै स्थल पर्यटकको उपयुक्त गन्तव्य भए पनि त्यहाँ पुग्न यातायातको अभाव छ । यातायात पुगे पनि कतिपय ठाउँमा होटेल तथा रेस्टुरेन्टको अभाव छ । त्यसकारण पर्यटकीय दृष्टिकोणबाट सम्भावनै सम्भावनाको स्थल भए पनि ती क्षेत्रको आवश्यक पूर्वाधार विकास गर्न नसकिँदा राज्यले पर्यटन क्षेत्रबाट जति फाइदा लिन सक्नुपर्ने थियो, त्यति लिन सकिरहेको छैन ।
विश्वमा आठ हजार मिटरमाथिका टाकुरा जम्मा १४ वटा छन् । त्यसमध्ये नेपालमा मात्र आठ वटा छन् र सर्वोच्च शिखर सगरमाथा पनि हाम्रै देश नेपालमा पर्छ । यसले के देखाउँछ भने पर्यटन क्षेत्रमा नेपाल धेरै धनी छ । विश्वको सर्वश्रेष्ठ चुचुरो नेपालमा हुनु भनेको हाम्र लागि भाग्यको विषय हो । हाम्रो सगरमाथा न हराउन सक्छ न नासिन सक्छ न खुम्चिएर सानो हुन्छ न त यसको आकारप्रकारमा नै कुनै कारणले परिवर्तन आउन सक्छ । यो त जुगौँजुगसम्म जीवित रहिरहने प्राकृतिक सम्पदा हो । जसको विकासबाट देशले निरन्तर आम्दानी प्राप्त गरिरहने स्थायी स्रोत बन्न सक्छ ।
नेपालीको सान नै विश्वको सर्वोच्च टाकुरो भएको देश भनेर पहिचान स्थापित गराउन सकिइरहेको छ । नेपाल भनेर चिन्न नसक्नेका लागि विश्वको सर्वोच्च शिखर भनेर परिचय गराउन पाउँदा नेपाल र नेपालीेले गौरवको अनभूति गर्न पाइएको छ ।
सगरमाथासहित आठ वटा सर्वोच्च टाकुरा त नेपालमा नै पर्दछन् भने हामीले पर्यटन क्षेत्रमा कति धेरै सम्भावना बोकेका रहेछौँ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । यी आठ वटा हिमाल मात्र होइनन्, यिनीहरूको हिमशृङ्खला पनि पर्यटकका लागि त्यत्तिकै आकर्षणको क्षेत्र हो । कोही पर्यटक सर्वोच्च सगरमाथा आरोहण गर्न आएका हुन्छन् भने कोही पर्वतीय पदयात्रामा आकर्षित देखिन्छन् । यसरी हिमाल र हिमशृङ्खलाले नेपालको आर्थिक विकासमा ठुलो योगदान पुर्याएको छ ।
विभिन्न आर्थिक क्षेत्र विकास हुन नसकिरहेको अहिलेको अवस्थामा पर्यटन क्षेत्रको विकासबाट समग्र देशको विकास गर्न सकिन्छ । पदयात्रा, विभिन्न दर्शनीय स्थल पर्यटकका लागि आकर्षण बन्दै गएका छन् । नेपालमा पर्यटन क्षेत्रको विकासका यति धेरै सम्भावना छन् कि तिनीहरूको आकलन गर्न नै सकिने अवस्था छैन । तिनीहरूबाट जति फाइदा लिन सकिन्थ्यो, त्यति लिन सकिएको छैन । यस्तो विकासको सम्भावना बोकेको क्षेत्र ओझेलमा पर्नु आर्थिक दृष्टिकोणबाट राम्रो मान्न सकिँदैन । यही हिमालय क्षेत्रको कारणबाट नेपालको पर्यटन व्यवसाय आकर्षणको केन्द्र बन्दै गएको छ ।
सगरमाथा हेर्न मात्र भए पनि धेरै पर्यटक नेपाल आउने गरेका छन् । हामीले अरू केही गर्न नसके पनि हिमाल देखाएर मात्र पनि धेरै पर्यटक भित्र्याउन सकिरहेका छौँ । बुझ्नुपर्ने कुरा के छ भने प्रत्येक वर्ष नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गए पनि तिनीहरूको बसाइ भने लम्ब्याउन सकिएको छैन । अहिले सालाखाला १३ दिन मात्र उनीहरूको बसाइ छ । उनीहरूको बसाइ लम्ब्याउन सकियो भने निश्चय नै यस क्षेत्रबाट नेपालले राम्रो विदेशी मुद्रा आर्जन गर्न सकिने छ ।
आठ हजारमाथिका हिमालका टाकुराभन्दा पनि सस्तो र सजिलैसँग आरोहण गर्न सकिने साना हिमालतर्फ धेरैको आकर्षण रहेको छ । यस्ता हिमाली क्षेत्रको विकासमा सरकारको ध्यान जानु पर्छ । अहिले आएर नयाँ नयाँ हिमालप्रति पर्यटकको चासो बढ्दै गएको छ । भर्जिन हिमाल चढ्न पर्यटकको रुचि बढेको देखिन्छ । नयाँ हिमाल आरोहण गर्दा आफैँ बाटो बनाउँदै जान रुचि राख्ने पर्यटकको सङ्ख्या पनि बढ्दै गएकाले यसको व्यवस्थापनतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । यस क्षेत्रको समग्र विकासका लागि नयाँ कार्यक्रम ल्याएर अविलम्ब कार्यान्वयन गरिनु पर्छ । नेपालका हरेक ठाउँ पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
पर्यटन व्यवसायको सम्भावाना धेरै रहेको भए पनि अहिले यस क्षेत्रको विकास राम्रोसँग भएको देखिँदैन । मुख्य कुरो पर्यटकको बसाई अवधि लम्ब्याउन सकिएको छैन । उनीहरूको बसाइ अवधि लम्ब्याउन नयाँ नयाँ मनोरञ्जनका कार्यव्रmम ल्याउनु पर्छ । एकल उद्देश्य लिएर आउने पर्यटकलाई अन्य उद्देश्यमा सहभागिता गराउनु पनि त्यत्तिकै आवश्यक छ । सगरमाथा आरोहण तथा पर्वतारोहणको उद्देश्य राखेर आउनेलाई पशुपति, लुम्बिनी, पोखरा तथा अन्य यस्तै पर्यटकीय क्षेत्र र धार्मिक स्थलको भ्रमण तथा पदयात्रालगायतका क्षेत्रमा लैजान सकिन्छ । निश्चय नै यस्ता गतिविधिले पर्यटकको बसाइ लम्बिने छ ।
अहिले जलयात्राको पनि सम्भावना बढ्दै गएको छ । पर्यटनको क्षेत्र व्यापक छ, यसको विकास सरकारबाट मात्र सम्भव छैन । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट यसको विकास गरिनु पर्छ । नेपालमा पर्यटन व्यवसायको सम्भावना अत्यधिक छ । भारत र चीन जस्ता भूगोल र जनसङ्ख्याको दृष्टिकोणबाट ठुला दुई छिमेकी देश भएका कारण गर्दा यस क्षेत्रको विकासका धेरै सम्भावना रहेको पाइन्छ किनभने भारतसँग खुला सिमाना भएको र प्रवेशाज्ञा आवश्यक नहुने भएकाले पर्यटक सङ्ख्या बढाउन सकिने छ । उत्तरतर्फको छिमेकी देश चीनबाट पनि पर्यटन भिœयाउन सकिने आधार निर्माण हुँदै गएको छ । ठुलो जनसङ्ख्या भएका यी दुई मुलुकबाट थोरै मात्र जनसङ्ख्या नेपाल भित्रिए पनि नेपाललाई धेरै फाइदा हुने छ ।