• १६ चैत २०८१, शनिबार

पौने छ अर्बको अलैँची निर्यात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १२ गते । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पौने छ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुनसम्म पाँच अर्ब ८४ करोड ७० लाख ३८ हजार रुपियाँ बराबरको ३२ लाख ३७ हजार ७४५ केजी अलैँची निर्यात भएको छ । 

गत वर्षको सोही अवधिमा पाँच अर्ब १७ करोड ४५ लाख रुपियाँ बराबरको ३५ लाख ४५ हजार ४८० केजी अलैँची निर्यात भएको थियो । गत आवको आठ महिनाको तुलनामा चालु आवमा ६७ करोड रुपियाँभन्दा बढीको अलैँची निर्यात भएको हो । 

अलैँचीको निर्यात रकममा बढे पनि परिमाणमा भने तीन लाख केजी घटेको तथ्याङ्कले देखाएको छ । यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढे पनि माग अनुसार उत्पादन नहुँदा निर्यात हुन नसकेको अलैँची उत्पादक सङ्घले जनाएको छ । 

सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा विगतका वर्ष ४० हजार प्रतिमन (४० केजी) रुपियाँ रहेको अलैँचीको मूल्य यो वर्ष बढेर एक लाख १२ हजार रुपियाँसम्म पुगेको छ ।

सङ्घका अध्यक्ष निर्मल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको उच्च माग भए पनि निर्यात कम हुँदा माग अनुुसार निर्यात गर्न नसकिएको जानकारी दिनुभयो । 

निर्यात बढाएर विदेशी मुद्रा भित्र्याउन सकिने ठुलो सम्भावना भए पनि न्यून उत्पादन हुँदा निर्यात बढाउन नसकिएको उहाँको भनाइ छ । अलैँची खेती विस्तार गर्न सके वार्षिक २५ देखि ३० हजार मेट्रिक टन उत्पादन गर्न सकिने र त्यसबाट आठदेखि १० अर्ब रुपियाँसम्म विदेशी मुद्रा सहजै भित्र्याउन सकिने तथ्य पेस गर्दै उहाँले भन्नुभयो, “यसका लागि सरकारले कृषकलाई सहुलियत ब्याजमा ऋण, कृषि प्राविधिकको व्यवस्था गर्नु पर्छ ।” सङ्घका अनुसार मुलुकभर १८ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएकोमा त्यसबाट वार्षिक पाँच हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । मुलुकमा ४० हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने सम्भावना रहे पनि खेती विस्तार हुन नसकेको भट्टराईको भनाइ छ । सङ्घका अनुसार पछिल्लो समय अलैँचीको खेतीयोग्य क्षेत्रफलसँगै उत्पादन पनि क्रमिक रूपमा घट्दै गएको छ । 

अलैँचीको प्रयोग स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ । खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रासायनिक गुणले खाना पचाउने, रगत सफा गर्न मद्दत गर्ने, पेटमा ग्यास्ट्राइटिस तथा अल्सर हुनबाट रोकिने बताइएको छ । पानीमा अलैँचीको धुलो, अदुवाको रस तथा एक चिम्टी हिङ राखेर पिउनाले पेटसम्बन्धी समस्याबाट छुटकारा पाइने बताएको छ ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।