• १३ चैत २०८१, बुधबार

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडाैं, चैत ११ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिइ २५ लाख भन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताउनुभयो। 

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानुन तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुले झेलिरहेका भुक्तानि, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । 

व्यवसायिक प्रवर्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको जिकिर गर्नुभयो । 

सभापति देउवाले भन्नुभयो, "विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा, विश्व अर्थतन्त्रमा समस्या आइरहेको अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाख भन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ । यसबाहेक यहाँहरुले झेलिरहनुभएका भुक्तानि, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।"

"व्यवसायिक प्रवर्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु, आजको आवश्यकता पनि हो । योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु नै आजको मुख्य समस्या हो । नेपाल निर्माण व्यवसायीहरुले नेपालमा मात्र नभएर विदेशमा उत्कृष्ट काम गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन हामीले सुरुङ मार्ग, रेल सेवा, जलविद्युत क्षेत्र लगायतका निर्माणमा पनि विशेष प्राथमिकता दिनुपर्ने टड्कारो आवश्यकता भएको छ," उहाँले थप्नुभयाे ।

सभापति देउवाले निर्माण व्यवसायीहरु विकासको संवाहक भएको बताउनुभयो । अर्थतन्त्र गतिशिल बनाउन आफ्नो–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।