• १३ चैत २०८१, बुधबार

क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी : स्वास्थ्यमन्त्री पौडेल

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडाैं, चैत ११ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताउनुभयो । "उपत्यकाभित्र निर्वाह हुने स्थिति रहेपनि उपत्यका बाहिर कतिपय स्वास्थ्य संस्थाहरु शुन्यताको स्थिति रहेको छ । आफ्नो भुगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी छ", उहाँले भन्नुभयाे । 

जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताउनुभयो । आवश्यक जति तलव दिन नसकेपनि निर्वाह हुने सम्मको तलव सुविधाको व्यवस्था गर्न आवश्यक रहेको उहाँकाे भनाइ छ । 

मन्त्री पौडेलले भन्नुभयो, "अस्पताल बनाएर मात्रै पुग्दैन, त्यहाँ उपचार गर्नसक्ने क्षमतावान डाक्टर, नर्स र स्वास्थ्यकर्मीको आवश्यक पर्छ । राज्यको तहगत निर्धारण निजामति सरह हुने स्थिति छ । तपाईंलाई विशिष्ट क्षमता भएको जनशक्ति मानिसकेपछि तपाईंको तहगत व्यवस्था पनि त्यहीअनुसार गर्नुपर्छ । यहाँहरुलाई आवश्यक जति तलव दिन नसकेपनि निर्वाह हुने सम्मको तलव सुविधाको व्यवस्था गरिनुपर्छ ।"

मन्त्री पौडेलले अस्पताल, मन्त्रालय बनाएको नागरिकका लागि बनेको भन्दै नागरिकका लागि सहज हुने परिस्थिति बनाउन आवश्यक जरुरी रहेको बताउनुभयो । उपचार सेवाबाट कसैले पनि विमुख हुनुपर्ने स्थिति हुन नदिन सरकारले काम गरिरहेको बताउनुभयो ।