• १६ चैत २०८१, शनिबार

तनहुँमा १७९ क्षयरोगका बिरामी, १५ जनाको मृत्यु

blog

प्रदेश जनस्वास्थ्य कार्यालय दमौली तनहुँले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर : किरण श्रेष्ठ

किरण श्रेष्ठ
दमौली (तनहुँ), चैत ११ गते ।
तनहुँमा परीक्षणको दायरा बढाउदा क्षयरोगका बिरामीको सङ्ख्या बढेको देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले परीक्षणको दायरा बढाउदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको जनाएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ल्याब टेक्निसियन दीपक श्रेष्ठले चालु वर्ष २०८१/८२ को चैत १० गतेसम्म एक सय ७९ जनालाई क्षयरोग सङ्क्रमण पुष्टि भएको बताउनुभयो । यो क्रम असार मसान्तसम्म बढ्ने उहाँको भनाइ छ ।

यस्तै क्षयरोगबाट चालु आर्थिक वर्षको चैत सम्ममा १५ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।गत वर्ष तीन सय २६ जनामा सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका दश पालिकामध्ये सबैभन्दा धेरै व्यास नगरपालिकामा क्षयरोगका बिरामी फेला परेका छन् ।

व्यास  नगरपालिकामा ५३, शुक्लागण्डकी नगरपालिकामा २३, भानु नगरपालिकामा ११ जना, भिमाद नगरपालिकामा ६, म्याग्दे गाउँपालिकामा ११, बन्दीपुर गाउँपालिकामा १९, आँबुखैरेनी गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा ७ र घिरिङ गाउँपालिकामा १४ जना क्षयरोगका बिरामी रहेको ल्याब टेक्निसियन श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा परीक्षणको क्रम बढाएर सङ्क्रमितको सङ्ख्या पत्ता लगाउन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले यस वर्ष आर्टिफिसियल इन्टिलिजेन्स (एआई) एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण गर्दा सङ्क्रमणहरु पत्ता लाग्न सहयोग पुगेको बताउनुभयो ।

‘‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई) एक्सरे मेसिनद्वारा जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र बन्दिपुर गाउँपालिकामा क्षयरोग परीक्षण गरिएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘परीक्षणमा ऋषिङ गाउँपालिकामा दुई जना र घिरिङ  गाउँपालिकामा दुई जना र बन्दिपुर गाउँपालिकामा जना तीन जना क्षयरोगका विरामीहरु पत्ता लागेको छ ।’’

यहि चैतको १४ र १५ गते भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा एआई एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण गरिने ल्याब टेक्निसियन श्रेष्ठले जानकारी दिनुभयो ।

तनहुँमा क्षयरोग निको हुने दर ८७ दशमलव ५ प्रतिशत रहेको ल्याब टेक्निसियन श्रेष्ठले बताउनुभयो । ‘‘समयमै रोग पत्ता लागेर नियमित औषधी उपचार गरेमा क्षयरोग निको हुन्छ,’’ ल्याब टेक्निसियन श्रेष्ठले भन्नुभयो, ‘‘क्षयरोगको लक्षण देखा परेमा तुरुन्त परीक्षण गरी औषधी सुरुवात गर्नुपर्छ ।’’

छ महिना नियमित औषधी सेवन गरे क्षयरोग निको हुने उहाँले बताउनुभयो । क्षयरोगीको उपचारका लागि जिल्लामा एक सय ११ उपचार केन्द्र छन् । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उहाँले बताउनुभयो ।

“क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, ल्याब टेक्निसियन श्रेष्ठले भन्नुभयो, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”

उहाँले जिल्लाको तीन वटा पालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो । ‘‘भानु नगरपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालेकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष राखिएको छ ।’’ ल्याब टेक्निसियन श्रेष्ठले भन्नुभयो, ‘‘त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएको छ ।’’

क्षयरोगको पछिल्लो अवस्था हेर्दा भयावहको अवस्था रहेको उहाँले बताउनुभयो । एक जना क्षयरोगीले १५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले जोखिम भएको ल्याब टेक्निसियन श्रेष्ठले बताउनुभयो । 

धुम्रपान र मद्यपान गर्नेलाई यो रोग सङ्क्रमण बढी हुने देखिएको ल्याब टेक्निसियन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरु समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने गर्दछ । जिल्लामा क्षयरोग परीक्षणका लागि माइक्रोस्कोपि सेन्टर १४ वटा रहेको ल्याब टेक्निसियन श्रेष्ठले जानकारी दिनुभयो । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइँदै आएको छ ।