• १६ चैत २०८१, शनिबार

विश्व क्षयरोग दिवस

‘क्षयरोगले शरीरका सबै अङ्गमा असर गर्छ’

blog

काठमाडौं, चैत १ गते । नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । राष्ट्रिय क्षेयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार नेपालमा मृत्युको कारणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ ।

चिकित्सकका अनुसार क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । छातीरोग विशेषज्ञ डा.नविनप्रकाश साहका अनुसार क्षयरोग श्वाप्रश्वासको माध्यमबाट सर्ने रोग हो ।

क्षयरोगीले खोक्दा, हाछ्यु गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने डा.साह बताउनुहुन्छ । क्षयरोगले शरीरका सबै अङ्गमा असर गर्ने साह बताउनुहुन्छ । क्षयरोगबाट ९० प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । अन्य अङ्गमा मुटुको बाहिरी झिल्लली, मासु, जोर्नी, मस्तिकमा पनि क्षयरोगले असर गर्ने उहाँ बताउनुहुन्छ । यो रोगले महिलाको डिम्बाननीमा असर गरेर बाझोपन निम्त्याउने डा.साहको भनाइ छ ।

उच्च जोखिम समूह

अस्वस्थ्य जीवनशैली तथा खानपानका कारण पनि मानिसलाई क्षयरोगको सङ्क्रमण हुने खतरा बढ्छ । कुपोषण भएका, धुम्रपान तथा सुर्तीजन्य प्रदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआईभी सङ्क्रमित, रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्दछन् ।

डा. साहका अनुसार तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमखु लक्षण हुन् ।

४० प्रतिशतरोगी उपचार बाहिर

नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोका बिरामी उपचारको दायरा बाहिर रहेको उल्लेख गरेको छ ।

सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनले नेपालमा प्रत्येक वर्ष ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ बिरामीको हजारको मृत्यु हुने अनुमान गरेको थियो ।

केन्द्रका निर्देशन डा. तिवारीले नेपालमा अनुमानित बिरामीमध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “अनुमानित क्षयरोग प्रभावित बिरामी र उपचारको दायरामा आएका बिरामीको सङ्ख्यामा ठुलो अन्तर छ । हामीले ४० प्रतिशत क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन ।”

नेपालले सन् २०३० सम्म क्षयरोग महामारीबाट अन्त्य गर्ने र २०५० सम्म क्षयरोग मुक्त नेपालमा बनाउने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनु सबैभन्दा चुनौती रहेको अस्पतालमा छातीरोग विशेषज्ञ डा. साहको भनाइ छ । उहाँका अनुसार केन्द्रले उपचारको पहुँच वृद्धि गर्दै लगेको छ । हाल केन्द्रले छ हजार २४१ वटा डटकेन्द्रबाट क्षयरोगको निःशुल्क औषधी वितरण गर्दै आएको छ ।

क्षयरोगका बिरामीमध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग, २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग पुष्टि भएको डा.तिवारीले जानकारी दिनुभयो । उपचारमा आएका क्षयरोगका बिरामीमध्ये ७५६ जना औषधी प्रतिरोधी रहेको तिवारी बताउनुहुन्छ । नेपालमा क्षयरोगको उपचार सरफलता दर ९२ प्रतिशत छ ।

डा. तिवारीका अनुसार नेपालभरी क्षयरोग उपचारका सेवाहरु ६२४१ स्वास्थ्यसंस्थाहरु र निदानका सेवाहरु ८०० वटा स्वास्थ्यसंस्थाहरुमा निःशुल्क उपलब्ध छन् । साथै क्षयरोगको द्रुत परीक्षण सेवाको पहुँच ६७ जिल्लाहरुका ११७ स्वास्थ्य संस्थाहरुमा पुगेको छ ।

यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिहरुको औषधी प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधी प्रतिरोधी क्षयरोगका बिरामीहरुको उपचार सेवा २९ वटा उपचार केन्द्रहरु र ९८ उपचार उप– केन्द्रबाट प्रदान गर्दै आएको छ ।

आज विश्व क्षयरोग दिवस

यसैगरी, आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोगविरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । 

दिवसको यस वर्षको नारा  ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । 

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक सङ्कल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।