गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ११ गते । अर्थतन्त्र चलायमान हुन नसकेको सरोकारवालाको गुनासो कायमै रहेको समयमा अर्थ मन्त्रालयले भने अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको उल्लेख गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्मको आर्थिक बुलेटिन आइतबार सार्वजनिक गर्दै मन्त्रालयले मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको दाबी गरेको हो ।
बुलेटिन अनुसार सरकारको राजस्व परिचालनमा सुधार हुँदै गएको छ । चालु आवको माघसम्म राजस्व परिचालन १३.३ प्रतिशत र कुल खर्च ९.९ प्रतिशतले बढेको बुलेटिनमा उल्लेख छ ।
राजस्व परिचालनतर्फ सरकारले माघसम्म छ खर्ब ४२ अर्ब ८५ करोड रुपियाँ सङ्कलन गरेको छ । जसमध्ये ८८ प्रतिशत कर राजस्व र १२ प्रतिशत गैरकर राजस्व रहेको छ । गत आवको माघसम्म सरकारले पाँच खर्ब ६७ अर्ब रुपियाँ राजस्व परिचालन गरेको थियो ।
समीक्षा अवधिमा सरकारले सात खर्ब ५४ अर्ब रुपियाँ खर्च गरेको छ । गत आवको सोही महिनासम्म सरकारले छ खर्ब ८६ अर्ब रुपियाँ खर्च गरेको थियो । कुल खर्चमध्ये चालु तर्फ ६९.२ प्रतिशत, पुँजीगततर्फ ९.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २१.७ प्रतिशत खर्च भएको मन्त्रालयको तथ्याङ्क छ । पुँजीगततर्फ सरकारको खर्च ७.६ प्रतिशतले बढेको तथ्याङ्क मन्त्रालयले प्रस्तुत गरेको छ ।
करदाताको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको मन्त्रालयले जनाएको छ । माघसम्म चार लाख ३३ हजार करदाता थप भएर कुल करदाताको सङ्ख्या ६६ लाख ६० हजार पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४६ लाख १२ हजार रहेको छ । त्यस्तै २० लाख १२ हजारले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । बाँकी करकट्टी गर्ने निकायले त्यस्तो नम्बर लिएका छन् ।
वैदेशिक सहायता प्रतिबद्धता पनि गत आवको माघको तुलनामा बढेर दुई खर्ब २१ अर्ब रुपियाँ रहेको छ । कुल प्रतिबद्धतामध्ये २५.५ प्रतिशत अंश अुनदानको रहेको छ भने ऋणको अंश ७४.५ प्रतिशत रहेको छ । गत आवको माघसम्म यस्तो प्रतिबद्धता केवल ८९ अर्ब ४९ करोड रुपियाँ थियो ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा पनि क्रमिक सुधार आइरहेको तथ्य मन्त्रालयले प्रस्तुत गरेको छ । माघसम्म निर्यात ४६.५ प्रतिशतले बढ्दा आयात पनि १० प्रतिशतले बढेको छ । विपे्रषण आप्रवाह ७.३ प्रतिशतले बढ्दा श्रम स्वीकृति लिनेको सङ्ख्या १२ प्रतिशतले बढेको छ ।
त्यस्तै चालु खाता र शोधनान्तर स्थिति दुवै उच्च रूपमा बचतमा रहेको मन्त्रालयले जनाएको छ । वित्तीय क्षेत्रतर्फ निक्षेप सङ्कलन ३.८ प्रतिशतले बढ्दा कर्जा ५.६ प्रतिशतले विस्तार भएको छ । यद्यपि बैङ्कहरूको निष्क्रिय कर्जा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।