रामकृष्ण बोहरा
बागलुङ, चैत १० गते । कार्यस्थलमा खटिने पत्रकार र सञ्चार माध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङले क्रियाशील पत्रकार, सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी र कर्मचारी समेतको दुर्घटना बीमा गराएको हो ।
महासंघले बागलुङ नगरपालिका २ को सहयोग र नेको इन्सोरेन्स कम्पनीको सहकार्यमा बीमा गरिएको हो । प्रतिव्यक्ति दुई लाख रुपियाँसम्मको दुर्घटना बीमास्वरुप उपचार खर्च पाउनेगरी बीमा गराइएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अबिरल’ ले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका २ का अध्यक्ष सुरज बोसेलले चालु वर्षको विपत जोखिम न्युनीकरण अभियानअन्तर्गत ९९ जना पत्रकारको दुर्घटना बीमा गराएका हुन् ।
‘दैनिक रातदिन नभनी फिल्डमा खटिएका पत्रकारको जोखिम कम गर्ने र केही भएमा तत्काल उपचार गराउन सकिनेगरी बीमा गरिएको हो’ वडा अध्यक्ष सुरज बोसेलले भन्नुभयो, ‘यो सन्देशले अन्य क्षेत्रका जनप्रतिनिधि, स्थानीय सरकार समेतले आमनागरिक र पेशागत क्षेत्रका व्यक्तिको स्वास्थ्य र सुरक्षामा ध्यान दिनेछन् ।’
बासलेले यो अभियानलाई वडाले नियमित गर्ने समेत बताउनुभयो । पहिलो चरणमा दुई वर्षका लागि बीमा गरिएको हो । आइतबार महासंघका अध्यक्ष अबिरल, वडा अध्यक्ष सुरज बोसेल र नेको इन्सोरेन्स कम्पनी लिमिटेडकी शाखा प्रबन्धक अन्जिला श्रेष्ठले बीमा पोलिसी हस्तान्तरण गरेर अभियानको थालनी गर्नुभयो ।
श्रेष्ठले पत्रकारको बीमाले आमनागरिकलाई पनि सचेत बनाउने बताउनुभयो । गत मंसिर २८ गतेको अधिवेसनबाट निर्वाचित महासंघको बैठकले पत्रकारको दुर्घटना बीमा गर्ने निर्णय गरेको थिाये ।