गोकर्ण पौडेल
तुलसीपुर, चैत १० गते । पत्रकार तथा प्रगतिवादी समालोचक टीका बस्नेतको ‘मार्क्सवाद र सञ्चार’ पुस्तकको विमोचन गरिएको छ ।
प्रेस चौतारी नेपालको दशौँ अधिवेशनका अवसरमा शनिबार नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सो पुस्तक विमोचन गर्नुभएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धानरत बस्नेतको चौथो कृति मार्क्सवाद र सञ्चार हो । बस्नेतका मार्क्सवाद र उत्तर आधुनिकतावाद, क्रोधित मनहरू र मुक्तिका आवाज दर्शन,मुक्तक र गजल सङ्ग्रह प्रकाशित छन् ।
नेपाली भाषा, साहित्यमा दुई दर्जनभन्दा बढी अनुसन्धानमूलक आलेख प्रकाशन गरिसकेका बस्नेतले यस कृतिमा सञ्चार र मार्क्सवादको सम्बन्धबारे विशेष चर्चा गरेका गर्नुभएको छ ।
पुस्तकमा मार्क्सवादी विचारधारा, समाजवादको ढाँचा, द्वन्द्ववाद, वर्गसंघर्ष, क्रान्तिका चरणहरू तथा सञ्चार सिद्धान्त विषयलाई समेटिएको छ। पुस्तकमा सूचना प्रविधि युगमा मार्क्सवादी सञ्चार सिद्धान्तको सान्दर्भिकता विश्लेषण गरिएको छ।
पुस्तकको विमोचन गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो पुस्ता अध्ययन र लेखनका क्षेत्रमा चासो नदेखाइरहेको अवस्थामा बस्नेतको लेखनले युवा पुस्तालाई लेखनमा थप आकर्षित तुल्याउने बताउनुभयो । उहाँले पत्रकारहरु समाचार मात्र नभई दर्शनमा समेत अब्बल छन् भन्ने मार्क्सवाद र सञ्चारका पुस्तकबाट बस्नेतले पुष्टि गरेको बताउनुभयो ।