काठमाडौं, चैत १० गते । नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त हुनुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अर्मेनियाका परराष्ट्रमन्त्री अरारात मिर्जोयानद्वारा २०२५ मार्च १२ मा जारी समादेश–पत्रमार्फत मल्ललाई काठमाडौँ उपत्यका हेर्ने गरी अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको हो।
मन्त्रालयले पत्र प्राप्त भएसँगै उहाँलाई आज अनुमतिपत्र प्रदान गरेको जानकारी दिएको छ। मल्लको कार्यकाल २०८४ चैत ९ गतेसम्म रहने छ।
परराष्ट्र मन्त्रालयले सम्बन्धित अधिकारी तथा नागरिकलाई मल्ललाई कर्तव्य पालनका क्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
विसं २०१८ मा दाङमा जन्मिनु भएका मल्ल ऊर्जा क्षेत्रमा अनुभवी व्यक्तित्व हुनुहुन्छ । उहाँ बुटवल पावर कम्पनी लिमिटेडका पूर्व महाप्रबन्धक हुनुहुन्छ र उहाँले नर्वेबाट जलविद्युत् विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
नियुक्तिपश्चात् नेपालस्थित अर्मेनियाका अवैतनिक वाणिज्यदूत मल्ल र परराष्ट्र मन्त्रालयका अधिकारीबीच द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।