हिले समाचारदाता
हिले, चैत १० गते । बढ्दो डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह कार्यक्रम आयोजना गरिएको छ ।
सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्न थालेपछि त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको धनकुटाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको संयोजनमा वन डढेलो सचेतना सप्ताह आयोजना गरिएको हो ।
एक हप्तासम्म विभिन्न सामुदायिक वन डढेलो रोकथामसम्बन्धी सचेतना, फायर लाइन सफा, नमुना अभ्यास, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका काम गरिएको सामुदायिक वन महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले जानकारी दिनुभयो । वनमा डढेलो लाग्न नदिन सबै स्थानीयलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चालन गरिँदै आएको हो । विनियोजित बजेटले भ्याएसम्म र सबैको सहकार्यमा सचेतना सप्ताह सम्पन्न गरिएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले जानकारी दिनुभयो । धनकुटामा ३८७ सामुदायिक वन र एउटा धार्मिक वन रहेको छ ।