बिर्तामोड समाचारदाता
बिर्तामोड, चैत १० गते । झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरी बलको वराह बाहिनी मुख्यालयको टोलीले १६ क्विन्टलभन्दा बढी गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुई जना पक्राउ परेका छन् ।
मुख्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–४ बस्ने २८ वर्षीय महेश राई र इलाम माईजोगमाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गङ्गाबहादुर बस्नेत छन् ।
इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । मिनी ट्रकलाई नियन्त्रणमा लिने क्रममा चार जना व्यक्तिमध्ये दुई जना फरार भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट नेपाली ८७ हजार ८८० रुपियाँ र पाँच थान मोबाइल सेटसमेत बरामद भएको छ । सादा हेलो मोबाइल सेट–एक थान, सादा बोनफ्लाई मोबाइल सेट–एक थान, आइफोन ११– थान एक, आइफोन ११ प्रोम्याक्स–थान एक, चार्जर– थान एक, भिभो मोबाइल–थान एक, पेनड्राइभ–थान एक, गङ्गाबहादुर बस्नेतको मतदाता परिचयपत्र– थान एक, छालाको पर्स–एक वटा, एटिएम कार्ड– एक थान, कालो ब्याग एक वटा बरामद भएको छ ।
विशेष गरी पूर्वी नेपालको धनकुटा, उदयपुर र भोजपुरलगायतका क्षेत्रमा अवैध रूपमा उत्पादित गाँजा कोशी राजमार्ग हुँदै सुनसरी र मोरङका सिमावर्ती नाकाबाट तस्करी भइरहेको अवस्थामा त्यस क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । बरामद गरिएको ट्रकसहितको गाँजा र पक्राउ परेकालाई आवश्यक कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापालाई बुझाइएको छ ।