• १३ असोज २०८१, आइतबार

घरघरमा धारा करेसामा तरकारी

blog

अमरगढी समाचारदाता 

डडेल्धुरा, जेठ २० गते  । भागेश्वर गाउँपालिका–४ गुवाडीका १५ घरधुरीमा खानेपानी सुविधा पुगेपछि करेसाबारीमा तरकारीसमेत लगाउन थालिएको छ । महाभारत पर्वत शृङ्खलाको मध्यभागमा रहेको गुवाडी गाउँमा यसअघि खानेपानीको चरम अभाव थियो । डेढ घण्टा टाढाको  नाउलाबाट खानेपानीको जोहो गर्दै आएका गुवाडी गाउँमा ‘एक घर एक धारा’ पु-याइएको छ । 

खानेपानीको व्यवस्थापछि खुसी हुँदै स्थानीय पार्वती जोशीले भन्नुभयो, “अहिले घरघरमै धारा बनेका छन् । बारीमा सागपात पनि लगाएका छौँ । निक्कै सहज भएको छ ।” स्थानीय लक्ष्मीदत्त जोशीले गाउँमा धाराको पानी व्यवस्था भएपछि नाउलाबाट दैनिक पानी बोक्नुपर्ने दुःखको अन्त्य भएको बताउनुभयो ।

नेपाल सरकार, गाउँपालिका, समुदायको सहयोग जनश्रमदान र फिनल्यान्ड सरकार तथा युरोपियन युनियनको एक करोड नौ लाख १६ हजार ५८३ रुपियाँ लागतमा खानेपानी योजना सम्पन्न भएको हो । सोविगडा खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत ठूलाखोला, भालुखोला सिद्ध र कटौजी मूलबाट खानेपानी ल्याई गुवाडी गाउँसँगै भागेश्वर गाउपालिका–४ र ५ का खाली, अरुकुडा, गुदडा, मेल्टा र कटेखर्क टोलमा खानेपानी वितरण गरिएको जनाइएको छ । सो योजनाबाट ६६ घरधुरीका ३८१ जनसङ्ख्या लाभान्वित भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिनुभयो ।

आयोजनाले गुवाडीसँगै अरू गाउँहरू खाली, अरुकुडा, गुदडा, मेल्टा र कटेखर्कको समेत खानेपानी समस्या समाधान भएको जनाइएको छ । सोविगडा खानेपानी तथा सरसफाई योजनाअन्तर्गत यी गाउँहरूमा जुठ्यान, च्याङ्ग निर्माण, सुधारिएको चुलो र तरकारी खेतीका लागि प्राविधिक सहयोग गरेको थियो । स्थानीयले अहिले भाँडाकुडा जुठ्यानमा धोईपखाली गरेर च्याङ्गमा सुकाउने गरेका छन् ।