• २० चैत २०८१, बुधबार

खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच

blog

काठमाडौँ, चैत १० गते । स्वच्छ र गुणस्तरीय खानेपानीमा मुलुकको २७ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । त्यसै गरी आधारभूत खानेपानीमा भने ९७ प्रतिशत नेपालीको पहुँच पुगेको छ । 

आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई स्वच्छ र गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीले आधारभूत खानेपानीका लागि ९८ प्रतिशत जनसङ्ख्यामा विभिन्न आयोजना तथा भौतिक संरचना पुर्‍याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “९८ प्रतिशत जनसङ्ख्यामा पानीको संरचना पुर्‍याइए पनि आधारभूत पानीको पहुँच ९७ प्रतिशतमा मात्र पुगेको छ । निर्माण गरिएका संरचनामा विभिन्न प्राकृतिक प्रकोपका कारण क्षति पुगेकाले निर्माण अनुसारको पानीको पहुँच पुग्न नसकेको हो ।”

१५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेनन् । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा नै सकिसकेको छ । 

सरकारले १६ औँ पञ्चवर्षीय योजनाको अन्त्य (२०८१/८२–२०८५/८६) सम्म गुणस्तरीय खानेपानीमा ४५ प्रतिशत जनसङ्ख्याको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद् बैठकमा पेस गरेको १६ औँ आवधिक योजनाको मसौदामा गुणस्तरीय खानेपानीमा ४५ प्रतिशत जनसङ्ख्याको पहुँच पुर्‍याउने लक्ष्य लिएको उल्लेख छ । १५ औँ पञ्चवर्षीय योजनामा दुइटै लक्ष्य प्राप्त हुन नसकेपछि फेरि नयाँ लक्ष्य तोकेको हो ।

त्यसै गरी दिगो विकास लक्ष्यले भने सन् २०२२ मा ५० प्रतिशत र सन् २०२५ भित्र ६५ प्रतिशत जनसङ्ख्यामा गुणस्तरीय खानेपानी पुर्‍याउने प्रक्षेपण गरेको थियो, जुन पूरा हुन सकेन । 

खानेपानी मन्त्रालयका सहसचिव दवाडीले खानेपानीको क्षेत्रमा आवश्यक बजेटको अभाव तथा खानेपानी आयोजना सङ्घीय, प्रादेशिक र स्थानीय तहसम्म विभाजित हुँदा खानेपानीमा लिएका लक्ष्य प्राप्त हुन नसकेको बताउनुभयो । उहाँका अनुसार बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट हुँदै गएको छ । 

विश्व पानी दिवस मनाइयो

‘हिमनदी संरक्षण’ मूल नाराका साथ शनिबार नेपालसहित विश्वभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पानी दिवस मनाइएको छ । विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइएको हो । 

पानी दिवसको अवसरमा आयोजित ‘दिगो खानेपानी सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा मन्त्री यादवले संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी सरकारको लगानी’ जस्ता नीति अगाडि बढाएको जानकारी दिनुभयो । नेपालमा खानेपानी सेवाको व्यवस्थित सुरुवात विसं १९४८ मा वीरधाराबाट सुरु भएको र पहिलो पञ्चवर्षीय योजना विसं २०१३ देखि खानेपानीलाई योजनाबद्ध रूपमा सम्बोधन गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आइएको छ ।