• १९ चैत २०८१, मङ्गलबार

घरको बार्दलीबाट लड्दा बालिकाको मृत्यु

blog

घरको बार्दलीबाट लड्दै गरेकी बालिकाको एआईद्वारा निर्मित काल्पनिक चित्र ।

राजकुमार भट्टराई

खोटाङ, चैत ९ गते । घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाकी २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो ।  

जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आउनुभएका पोखरेल दम्पतीकी छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा रेफर गरेपछि सुमो गाडीमा काठमाडौं उपचारका लागि पठाइएको पोखरेलले बताउनुभयो । 

उपचारको लागि काठमाडौं लगिएको बालिकाको जयराम पुगेपछि राती करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरेर हाल जिल्ला अस्पताल दिक्तेलमा बालिकाको शवको पोष्टमार्टम गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतीक बिष्टले बताउनुभयो । 

मृत्यु हुने बालिका पोखरेल दम्पतीको पहिलो एक्लो सन्तान हुन् । हाल उनका बुवा अशोक पोखरेल काठमाडौंमा बस्दै आउनुभएको छ । जिल्लास्थित एक संस्थामा कार्यरत श्रीमती कुमारी ढुङ्गाना छोरीसहित दिक्तेलमै बस्दै आउनुभएको बताइएको छ । शुक्रबार साँझ आमा भित्र खाना पकाउँदै गर्दा छोरी बाहिर आएर बार्दलीबाट लडेकी थिइन् ।