रवीन्द्र उप्रेती
बर्दीबास, चैत ८ गते। महोत्तरीको बर्दिबासमा अत्याधुनिक सुविधासहितको ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ। सुवोनिता फाउण्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने ट्रमा सेन्टरका लागि शुक्रबार बर्दिबास नगरपालिका र फाउण्डेसनबिच सहमति भएको छ।
सहमति अनुसार ट्रमा निर्माणको लागि नगरपालिकाले वडा नम्बर– २ स्थित बर्दिबास अस्पताल नजिक एक कठ्ठा जग्गा उपलब्ध गराउने जनाएको छ।
नगरप्रमुख प्रह्लाद क्षेत्रीले ट्रमा सेन्टरका लागि सक्दो छिटो जग्गा उपलब्ध गराइने बताउनुभयो।सहमतिपछि ट्रमा सेन्टरको संरचना निर्माणलाई गति दिइने फाउण्डेसनको नेपालस्थित संचालक अध्यक्ष हिमसुन्दर शाक्य (गुभाजु) ले बताउनुभयो ।
यसका लागि फाउण्डेसनले डेढ करोड रुपियाँ विनियोजन गरेको छ।काम गर्दै जादा बजेट थप्न पनि सकिने उहाँले बताउनुभयो। सुवोनिता फाउण्डेसन सेवा मूलक तथा मुनाफारहित संस्था भएकोले ट्रमा सेन्टरमा भर्ना हुने विरामीले निःशुल्क सेवा पाउने छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका अनुसार आव ०८०/८१ मा यहाँ ५०४ वटा सवारी दुर्घटना हुँदा नाबालकसहित ६८ जनाको मृत्यु भएको थियो।
बर्दिबास आसपासमा ट्रमा सेन्टर नहुँदा दुर्घटनाका घाइतेलाई टाढाको अस्पतालमा लैजानु पर्ने बाध्यताले गम्भीर अवस्थाका कतिपय बिरामीको बाटोमै मृत्यु हुने गरेको वडा नम्बर १४ का वडाध्यक्ष तथा नगरपालिकाका सूचना अधिकारी विजय महतोल बताउनुभयो।