• १५ चैत २०८१, शुक्रबार

बाढी सूचनाले सुरक्षित तालगाउँबासी

blog

मर्स्याङ्दी नदी किनारमा रहेको मनाङको ताल गाउँ । तस्बिर ः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत ८ गते । तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो । वर्षासँगको बाढीले मर्स्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको वेगमा बगे, कैयौँलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न बाध्य भए । 

बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँका बासिन्दा परेका थिए । ताल गाउँमा ४३ घर छन् । मर्स्याङ्दी नदी किनारसँगको बस्ती ताल गाउँका अधिक घरमा बाढी पसेको थियो । पटक पटक बाढीको चपेटामा परेर लाखौँको धनमाल गुमाएका तालगाउँबासीले भने अब विपद् आउनु पूर्व नै सूचना पाउने भएका छन् । 

मर्स्याङ्दी नदी तटमा अवस्थित ताल गाउँलाई प्राकृतिक विपद्बाट बच्न साइरन जडान गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) ले २६ लाख रुपैयाँको लागतमा साइरन जडान गरिदिएपछि ताल गाउँवासी खुसी भएका छन् । नासों गाउँपालिका–१ का अध्यक्ष मिनराशी गुरुङले साइरन जडानपछि बर्सातको समयमा गाउँलेहरू ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

लमजुङसँग सीमा जोडिएको ताल गाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार नासों गाउँपालिका–८ को धारा पानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ । स्वचालित सो यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताउनुभयो ।

साइरन ताल गाउँभर सुनिने गरि राखिएको छ । साइरनसँगै खतराको सङ्केतको  सूचना मोबाइल एसएमएसबाट जाने प्रबन्ध समेत गरिएको छ । कथम् कदाचित लाइन गएको, नेट नचलेको स्थिति भएमा पनि कटुवालमार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिनुभयो ।

सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्ने गरी स्थानीय गाउँमा रहेको मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि त्यो ठाउँमा पानी सतह पुग्न सकेको थिएन । साइरन जडानपछि स्थानीय जन प्रतिनिधिहरू, आमा समूह, युवा क्लबका पदाधिकारीहरू, प्रहरी र स्वास्थ्य चौकी तथा गाउँका बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको थियो ।