• १५ चैत २०८१, शुक्रबार

साङ्केतिक भाषामा एकरूपताको प्रश्न

blog

भाषा शिक्षण गर्नु भाषिक बानीको अभ्यास गराउनु र सार्थक भाषिक सिपमा दक्ष बनाउनु हो । नयाँ भाषा सुरुमा केही दुर्बोध्य, अप्ठेरो, नमिल्दो जस्तै हुन्छ तर अभ्यासकै क्रममा भाषिक ज्ञान, सिप र दक्षता अभिवृद्धि भई बिस्तारै भाषिक सबलता उन्नतितर्फ लम्कन्छ र विकासक्रमसँगै विज्ञता हासिल हुन्छ । समाजमा सिक्ने उमेरका विभिन्न विशेषतायुक्त बालबालिका हुन्छन् । त्यस्ता बालबालिकाको सिकाइका लागि प्राथमिक माध्यम भाषा उनीहरूका मातृभाषा नै हुने गर्छन् भने दोस्रो भाषाको माध्यमबाट भाषालगायत अन्य विषयको सिकाइ गर्दा सुरुमा विभिन्न कठिनाइ झेल्नुपर्ने हुन्छ । 

सुनाइसम्बन्धी अपाङ्गता भएका सुस्त श्रवण भएका व्यक्तिका लागि सहज सिकाइ गर्न साङ्केतिक भाषा नै प्राथमिक र अनिवार्य तथा निर्विकल्प हो । मातृ भाषाबाट घरायसी वा पारिवारिक वातावरणमा जे सिकाइ हुन्छ त्यो विद्यालय गएर सिक्ने विभिन्न विषयगत ज्ञानभन्दा नितान्त पहिलो र आधारभूत एवं भिन्दै हुन्छ । घरायसी वातावरणमा हुने सिकाइ र कुनै विद्यालयको कक्षा कोठामा हुने सिकाइ धेरै फरक हुने गर्छ । अझ पूर्वबाल्यावस्थाका सुस्त श्रवण भएका बालबालिकाको घरायसी सिकाइ सामान्य बालबालिकाभन्दा केही फरक प्रक्रियाबाट हुन्छ । जब कि सामान्य बालबालिका जो सुनाइ क्षमता राख्छन् उनीहरूले देखेर, सुनेर र अन्य इन्द्रीयहरूबाट अनुभूति गरेका अनुभवलाई सम्मिलित गरी छिटो सिक्न र बोध गर्न सक्छन् तर जन्मजात बहिराहरू सुनेर हुने कुनै पनि प्रकारको सिकाइको अनुभूति गर्न सक्दैनन् । जन्मजात सुस्त श्रवण भएका बालबालिकामा बोली भाषाको नभई दृश्य भाषाको अभ्यास हुन थाल्छ त्यसैले त केवल देखेका विषयवस्तुलाई मस्तिष्कीकरण गरेर त्यही आधारमा ज्ञान, सिप र नवीनतम् विषयको बोध गर्छन् । 

बालबालिका मात्र नभई सबै उमेर समूहका सुस्त श्रवण भएका व्यक्ति आफूले जानेबुझेका र ज्ञान गरेका कुरालाई अभिव्यक्त गर्ने भाषा सबल नहुँदा जानेर पनि नजाने जस्तो बुझेर पनि नबुझे जस्तो, कस्तो कस्तो अवस्थामा कतै अलमलिइरहेका हुन्छन् । साङ्केतिक भाषाको प्रयोग गर्ने अभ्यासका कारण लिखित भाषाबाट अभिव्यक्ति दिँदा लेख्य भाषामा हुने व्याकरणीक शुद्धता र अर्थपूर्णतामा हुने असरका कारण सुस्त श्रवण भएका व्यक्ति र अन्य व्यक्तिका बिचमा असामन्जस्यता र अविश्वासले घर गरेर समस्या आइरहेको हुन्छन् । औपचारिक रूपमा साङ्केतिक भाषा बुझ्न नसक्नेलाई प्राकृतिक साङ्केतिक भाषाबाट हुने सञ्चारले भनाइ र बुझाइमा स्पष्ट हुन नसक्दा ठुलो अनर्थ हुन सक्छ र त्यसबाट उत्पन्न हुने असरका कारण गम्भीर परिणाम साथै व्यक्तिगत र सामाजिक जीवनमा क्षतिसमेत हुन सक्छ । 

साङ्केतिक भाषा प्रयोग गर्दा पूर्णसंचारका विभिन्न क्रियाकलाप स्वतः सक्रिय हुन्छन्, जसबाट भाषामा बोधगम्यता एवं मिठास झल्कन्छ । भाषिक सञ्चारको यस अवस्थालाई सुस्त श्रवण भएका संस्कृति अनुसारको भाषिक प्रयोग भनेर बुझ्दा यसप्रति न्याय हुने छ । सुनाइसम्बन्धी अपाङ्गता भएका सुस्त श्रवण भएका वर्गका लागि विभिन्न विषयवस्तु सिक्न र सिकाउन साङ्केतिक भाषा नै शक्तिशाली, उपयुक्त र आधारभूत हो भन्ने कुरामा कसैको विमति छैन । यति महत्वपूर्ण भाषाको प्रयोग र विकासको अवस्था नेपालमा अहिले पनि काम चलाउकै अवस्थामा छ । हालसम्म नेपाली साङ्केतिक भाषामा साङ्केतीकरण भएका शब्दहरू करिक सात हजार छन् र यिनै शब्दको दायराभित्रबाट हरेक विषयवस्तुसम्बन्धी ज्ञान आर्जन गर्नु र अभिव्यक्त गर्नुपर्दा भाषिक अभावको असर कति सोचनीय छ होला, एक पटक मनन गरौँ त । 

विद्यालय र क्याम्पसमा सुनाइसम्बन्धी अपाङ्गता भएका सुस्त श्रवण भएका विद्यार्थीलाई शिक्षण गर्नु कुनै सजिलो वा सामान्य होला र ? अरू बोलीचालीका भाषाले सिकाइमा सबलता र सक्षमता राख्छन् किनकि त्यसमा शब्द भण्डार अत्यधिक छ, व्याकरणमा प्रवाह हुन्छ, साहित्यिक रसराग र मिठास हुन्छ, मौलिक र आगन्तुक शब्दहरूले सांस्कृतिक र प्राविधिक विषयहरूलाई स्थान दिइरहेका हुन्छन् तर अर्कातर्फ साङ्केतिक भाषामा हरेक विषयवस्तु सिक्नका लागि आवश्यक शब्द भण्डार र भाषिक सम्प्रेषणको शुद्ध व्याकरणिक सकुशल व्यवस्था विकास हुन बाँकी नै छ । 

विकास नभएको भने होइन । यसमा सुस्त श्रवण भएका विद्यालय र सुस्त श्रवण भएका सङ्घ संस्था लागि परेका छन् । साङ्केतिक भाषालाई भाषिक रूपमा नस्वीकारीकन पनि बोलिचालीका क्रममा मानिसले सामान्य प्राकृतिक सङ्केत वा हाउभाउको प्राकृतिक सञ्चालनद्वारा मौखिक कुराकानीलाई अझ प्रभावकारी बनाउने गर्दथे र त्यसो गर्नु निकै जीवन्त भाषिक सम्प्रेषणको एउटा कडी पनि हो । साङ्केतिक भाषाले त्यही प्राकृतिक सङ्केतको धरातलमा टेकेर नै विकसित रूप लिएको हो । नेपाली साङ्केतिक भाषा होस् वा विश्वका कुनै पनि साङ्केतिक भाषा होस् विकसित वा विस्तारित हुनका लागि केही निश्चित प्रक्रिया मिल्दाजुल्दा हुन्छन् । जस्तै प्राकृतिक सङ्केत, स्थानीय सांकृतिक पक्षसँग सम्बन्धित अर्थपूर्ण हाउभाउ, प्रचलित शब्द सङ्केतसँगको मेल, प्रचलित सङ्केत र चिह्नहरू, हिज्जेहरूको प्रयोगसँगै अर्थपूर्ण सङ्केतहरू इत्यादि । 

नेपाली साङ्केतिक भाषालाई नेपालका सुस्त श्रवण भएका व्यक्तिले सङ्गठित रूपमा स्वीकार गर्नुभन्दा पहिले पनि साङ्केतिक भाषा प्रयोग नभएको होइन । नेपालमा २०२३ सालमा सुस्त श्रवण भएका विद्यालयको प्रारूप तयार भइसक्दा र शिक्षक विद्यार्थीको बिचमा अन्तर्क्रिया हुँदा होस् वा विद्यालयीय पठनपाठनको सिलसिलामा होस् साङ्केतिक भाषाभन्दा पनि ओठे भाषा वा ओठको चाल हेरेर कुरा बुझ्नुपर्ने हुन्थ्यो । यस किसिमको पद्धतिभित्र साङ्केतिक भाषा हुर्कन र फस्टाउन सकिरहेको थिएन तर केही पनि नहुनुभन्दा केही हुनु बेस भने झैँ यसलाई सकारात्मक रूपमा नै लिइएको थियो । यसै ओठे भाषाको माध्यमबाट हुने पढाइसँगै सुस्त श्रवण भएका तथा सुस्त श्रवण भएका विद्यार्थीले सीमित ज्ञान र सिप आर्जन गर्न सक्थे । त्यस बेलाका सुस्त श्रवण भएका तथा सुस्त श्रवण भएका विद्यार्थी कक्षाकोठा र गुरुहरूको अनुशासनमा रहँदा ओठे भाषा नै प्रयोग गर्ने तर अन्य ठाउँमा शिक्षकको आँखा छल्दै आफूलाई सजिलो हुने साङ्केतिक भाषामा कुराकानी गर्थे । घर परिवारमा पनि ओठे भाषामा र विद्यालयमा पनि शिक्षकसँगको ओठे भाषा नै बाध्यकारी प्रयोग गर्नुपर्दा साङ्केतिक भाषाको स्थान थिएन । 

सुस्त श्रवण भएका व्यक्ति जब विद्यालयमा र क्लबमा सङ्गठित भए तब उनीहरूले आपसमा कुराकानी गर्ने क्रममा साङ्केतिक भाषा प्रयोग गर्न थाले यही अवस्थाको बिचबाट साङ्केतिक भाषाको कलिला मुना फस्टाउँदै गएका हुन् । २०३७ सालमा सुस्त श्रवण भएकाले आफ्नै नेतृत्वमा सुस्त श्रवण भएका कल्याणकारी सङ्घ (क्लब) स्थापना गरी त्यहाँ सुस्त श्रवण भएका तथा सुस्त श्रवण भएका युवा जमघट हुने वातावरण तयार गरेर आपसमा छलफल गर्दै व्यावहारिक रूपमा प्रयोगमा आउने नेपाली शब्दहरूको साङ्केतीकरण गर्न र नेपाली हस्त वर्णमाला निर्माणको थालनी गरेका हुन् । यसकै निरन्तरताको प्राप्तिस्वरूप २०४५ सालमा सुस्त श्रवण कल्याण संस्थाको प्रकाशन र सार्वाधिकार सुरक्षित हुने गरी नेपालमा नै सबैभन्दा पहिलो नेपाली साङकेतिक भाषाको शब्दकोश निर्माण भयो र यसैको आधारमा शिक्षकलाई साङ्केतिक भाषाको तालिम दिने साथै पठनपाठनमा माध्यम भाषाको रूपमा साङ्केतिक भाषाको प्रयोग हुन थालेको हो । त्यसपश्चात् शिक्षणको बलात् माध्यम ओठे भाषालाई बिस्तारै विस्थापित गरी साङ्केतिक भाषाका माध्यमबाट पठनपाठन गर्न सुरु गरिएको हो । 

भाषिक संसारका धेरै भाषामध्ये केही भाषा धेरै पहिले नै लोप भइसके होलान् र अहिले पनि कतिपय लोप हुने क्रममा छन् । आवाजसहितका भाषा जसका लिपि र व्याकरण पनि विकास भएका थिए त्यस्ता भाषा कतिपय व्यावहारिक प्रयोगमा प्रतिस्पर्धा गरेर स्थिति मजबुत बनाउन नसक्दा इतिहासमा मात्र सीमित रहन पुगेका छन् । ती भाषाभन्दा भिन्दै विशेषताले युक्त आवाज वा ध्वनि नभएको अस्तित्वशाली र दिनदिनै विकासको चरणमा लम्कँदै गरेको साङ्केतिक भाषा विश्वका धेरै देशमा प्रचलनमा छ । यही साङ्केतिक भाषा संसारभरिका सुस्त श्रवण भएका विद्यार्थीलाई अध्यापनका लागि माध्यम भाषा हुने गरेको छ ।

सुस्त श्रवण भएका शिक्षणका सम्बन्धमा सुस्त श्रवण भएकाका लागि विद्यालय शिक्षा प्रदान गर्ने र शिक्षणको वातावरणलाई व्यवस्थित गर्ने शिक्षण संस्था र सुस्त श्रवण भएका सङ्घसंस्था एवं उनीहरूलाई पृष्ठपोषण गर्ने सरकारी तथा गैरसरकारी निकाय सबै अन्तरसम्बन्धित हुन्छन्, जहाँ साङ्केतिक भाषाको अनिवार्य आवश्यकता हुन्छ । शिक्षणको माध्यम साङ्केतिक भाषा नै मुख्य हुने भएकाले प्रभावकारी र सफल शिक्षण हुनका लागि साङ्केतिक भाषाको विकास, विस्तारका साथ शुद्ध र स्तरीय प्रयोग गर्नुतर्फ चासो दिनु सम्बन्धित सरोकारवालाको प्रमुख दायित्व हो । साङ्केतिक भाषामा मुख्य अधिकार राख्ने सुस्त श्रवण भएका व्यक्तित्व र सुस्त श्रवण भएका सङ्घसंस्थाले साङ्केतिक भाषाको उन्नयन, प्रचारप्रसार, स्तरीय प्रयोगका लागि सुस्त श्रवण भएकालाई शिक्षण गरिने विद्यालयमा र साङ्केतिक भाषा अनुसन्धान तथा शब्द साङ्केतीकरण प्रक्रियामा निर्देशन र अनुगमन गरिनु पर्छ । साङ्केतिक शब्दहरूको प्रयोगमा एकरूपता र शुद्धता ल्याउन सम्बन्धित क्षेत्रमा कार्यरत तथा अन्य सरोकारवालालाई तालिम र विभिन्न कार्यशालामार्फत प्रबोधीकरण गरिनु पर्छ ।