• १९ चैत २०८१, मङ्गलबार

रेसुङ्गा क्याम्पसमा निर्वाचित स्ववियु पदाधिकारीको शपथ

blog

रेसुङ्गा बहुमुखी क्याम्पसमा निर्वाचित स्ववियु समितिको शपथ ग्रहण। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, चैत ७ गते। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट रेसुङ्गा बहुमुखी क्याम्पसमा नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ। यस क्याम्पसमा यहि चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहमतीय पद्धतिद्वारा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

स्ववियु निर्वाचनबाट रेसुङ्गा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका नेता सुदिप खत्रीको अध्यक्षता १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत उपप्रध्यापक गोपालप्रसाद पाण्डेले जानकारी दिनुभयो। खत्री यसअघि स्ववियुको सचिव हुनुहुन्थ्यो। 

सचिवमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे, सदस्यमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, सुस्मा पन्थी, अनेरास्ववियुबाट सन्तोष भण्डारी र अनेरास्ववियु क्रान्तिकारीबाट सागर सुनार निर्विरोध निर्वाचित हुनुभयो।

त्यस्तै, समानुपातिकतर्फ नेविसंघबाट सुशील पन्थी र विशाल पाण्डे निर्विरोध निर्वाचित हुनुभयो। 

अनेरास्ववियुबाट अस्मिता सदा, विनिता कार्की र मुनाल अधिकारी निर्विरोध निर्वाचित हुनुभयो। अनेरास्ववियु क्रान्तिकारीबाट प्रियंका पन्थी र अमृता विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभयो। 

निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन अधिकृत उपप्रध्यापक पाण्डेले शपथ ग्रहण गराउनुभयो। पूर्व स्ववियु सभापति छन्दबहादुर पहराईले स्ववियु व्यवस्थापिका, कार्यापालिका र न्यायपालिकाको अभ्यास गर्ने थलो पनि भएको भन्दै विद्यार्थीको हकहितका मात्र होइन प्रध्यापकहरूको हकहितका विषयमा पनि आवाज उठाउने दायित्व भएको बताउनुभयो।

पूर्व स्ववियु सभापति श्रीराम महतले नवनिर्वाचित स्ववियु टिमले  क्याम्पसमा विद्यार्थी संख्या बढाउने, गुणस्तरीय शिक्षाका लागि के गर्न सकिन्छ ? भन्ने तर्फ काम गर्न आग्रह गर्नुभयो। दलिय झण्डा र पार्टीगत आस्थालाई पर राखेर समुदाय र साझा क्याम्पसको हितमा काम गर्न समेत सुझाव दिनुभयो। नवनिर्वाचित स्ववियु अध्यक्ष सुदिप खत्रीले हिजो स्ववियुको सचिव हुँदा पनि विद्यार्थीहरूको हकहितका लागि काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। क्याम्पस प्रमुख हरि बहादुर खत्रीले सहमतीय पद्धतिबाट समिति निमार्ण भएको भन्दै नयाँ टिमले क्याम्पसको समग्र शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गर्नुभयो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले निर्विरोध निर्वाचित स्ववियु कार्यसमितिले विद्यार्थीहरुको हकहितका लागि मात्र होइन सिंगो क्याम्पसको बृह्तर विकास र श्रीवृद्धिका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो। क्याम्पस सञ्चालक समितिसँगको समन्वय र सहकार्यमा क्याम्पसलाई अझै राम्रो र गुणस्तरीय एवम् अहिलेको आवश्यकता अनुसारको शिक्षा प्रवाहका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।