शशिधर पराजुली
विराटनगर, चैत ७ गते। त्रिभूवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी ११ मध्ये १० क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणाम सार्वजनिक भएको छ।दशमध्ये पाँच क्याम्पसमा अखिल क्रान्तिकारीले अध्यक्ष पदमा विजय प्राप्त गरेको छ।
मोरङमा रहेका तीन वटा आंगिक क्याम्पस र ७ वटा सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीले तीनवटै आंगिक क्याम्पसमा अध्यक्ष जितेको छ ।
निर्वाचन सम्पन्न भएका सात सम्बन्धन प्राप्त क्याम्पसमध्ये दुई वटामा क्रान्तिकारीले अध्यक्ष जितेको छ।क्रान्तिकारीले स्नातकोत्तर क्याम्पस विराटनगर, मोरङ नर्सिङ क्याम्पस विराटनगर र कोशी प्रदेशकै सबैभन्दा ठूलो महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा अध्यक्ष जितेको छ ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा अखिल क्रान्तिकारीका रोहितकुमार यादव अध्यक्ष निर्वाचित हुनुभयो भने स्नातकोत्तर क्याम्पस विराटनगरमा क्रान्तिकारीका प्रितम साहसहित प्यानल नै विजयी बनेको छ।यसैगरी मोरङ नर्सिङ क्याम्पस विराटनगरमा रोहित ताजपुरिया अध्यक्षमा निर्वाचित हुनुभयो।
ठूला संगठन अनेरास्ववियु र नेपाल विद्यार्थी संघले मोरङका कुनै पनि आंगिक क्याम्पसमा जित निकाल्न सकेन।नेपाल विद्यार्थी संघले उर्लाबारी बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस र लेटाङ बहुमुखी क्याम्पसमा सभापति जितेको छ।लेटाङ बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो भने बाँकी दुई क्याम्पसमा सहमतिका आधारमा सर्वसम्मत गरिएको थियो।
यसैगरी नेकपा (एमाले) निकट अनेरास्ववियुले केराबारीको खदम क्याम्पस र सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा अध्यक्ष जितेको छ।दुवै क्याम्पसमा निर्वाचनबाट स्ववियु पदाधिकारी छानिएको थियो।
मोरङको बेलबारी बहुमुखी क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ।त्यहाँ भोलि शुक्रबार स्ववियु निर्वाचन गर्ने सहमति बनेको छ।